नेपाल

पेस्तोल बोकेर रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

पेस्तोल बोकेर रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद


सप्तरी । मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ ।
 
बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो । 
 
कैद सजायका साथै अदालतले रु १० हजार जरिवाना गरेको छ । छिन्नमस्ता गाउँपालिकामा टाइगर वियर र गोल्डेन ओके नामक रक्सी सेवन गरी हो–हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो । 
 
उनीसँगै मादकपदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन् ।
 
छिन्नमस्ता–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल वैशाख १६ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।