काठमाडौँ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिएपछि बल्लतल्ल मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ मेडिकल कलेज काठमाडौँ, कलेज अफ मेडिकल साइन्स चितवन, नेपाल मेडिकल कलेज काठमाडौँ, नेपालगञ्ज मेडिकल कलेज बाँके र विराट मेडिकल कलेज विराटनगरका सञ्चालकले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेट गरी बढी शुल्क फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने बताएका हुन् ।
सञ्चालकहरुले सरकारले तोकेको शीर्षकको शुल्कभन्दा थप रकम नलिएको र बढी शुल्क लिएको भए सरकारको निर्देशनलाई मान्दै अब लिने बाँकी शुल्कमा समायोजन गर्ने बताएका हुन् ।
उनीहरुले चिकित्सा शिक्षाभित्रको विकृति–विसङ्गति हटाई सबै मेडिकल कलेजलाई एउटै ठाउँमा हाली निराधार आरोप नलगाउनसमेत आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा आगामी दिनमा शिक्षा मन्त्रालयको नीति नियम निर्देशन पालना गर्नसमेत आफूहरु कटिबद्ध रहेको भन्दै नेपाली विद्यार्थी नेपालमै पढ्न पाउने वातावरण बनाउनसमेत माग गरेका छन् ।
सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आजसम्म फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेपछि कलेज सञ्चालक झस्किएका हुन् ।








प्रतिक्रिया