बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा विदेश जाने क्रम बढेसँगै देश विस्तारै वृद्धाश्रम बन्दै गएको बताएका छन् ।
आजदेखि बागलुङको गलकोटमा शुरु भएको दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटनका अवसरमा नेता केसीले विप्रेषणले मात्र राष्ट्र र राष्ट्रियता जोगाउन नसकिने भन्दै विदेशिएका युवालाई देश फर्किने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपालबाट मान्छे हैन उत्पादनलाई निर्यात गरौँ । विदेशिएका युवा अब स्वदेश फर्कनुस्, यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने काम गर्नुस् ।”
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता केसीले विगतमा देशमा राजनीतिक स्थिरता नहुँदा विकास हुन नसकेको भए पनि अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।
भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताका पक्षमा पहिलोपटक देश विदेशमा रहेका सबै नेपाली एकजुट भएको बताउँदै भने, “राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि पहिलोपटक राजनीतिक दलसँगै आम नागरिक एकैठाउँ उभिएका छन् ।”
उनले गलकोट क्षेत्रको विकासका निम्ति देश विदेशमा रहेका सबै नागरिकले उत्पादनशील क्षेत्रमा लगानी गर्नका निम्ति आग्रह गरे ।
महोत्सव आगामी मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन एवं प्रर्वद्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया