मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’

‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’


विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् । 
 
राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँदाबारे छलफल गर्न आयोजित कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । 
 
संयुक्त राष्ट्रसंघको स्थापनापछि मानव अधिकारको संरक्षण, संर्वद्धन र प्रर्वद्धन गर्नका लागि संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार कानून र सोसम्बन्धी विभिन्न प्रकारका संयन्त्रहरुको विकास गर्दै आइरहेको छ । 
 
सो सन्दर्भमा सदस्य राष्ट्रहरुलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानव अधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यसाथ  स्थापना भएको मानव अधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको हो ।
 
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सर्वसम्मत बनेको नेपालको संविधान २०७२ ले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । उनले महिला, बालबालिका र फरक क्षमता भएका मानिसहरुको अधिकारलाई रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयनको आवश्यकता औँल्याए ।
 
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्यको पूर्ण ध्यान जानुपर्नेमा जोड दिए । 
 
प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले मानव अधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि छ भने । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानव अधिकारमा प्रश्न उठ्न नसक्ने दाबी गरे । 
 
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मानव अधिकारका क्षेत्रमा शाक्तिशाली राष्ट्रहरु पनि कमजोर देखिएकाले यसको समीक्षा हुनु जरुरी रहेको बताए । 
 
प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले मानव अधिकार संरक्षणको सन्दर्भमा नेपाल प्रहरीले कानूनअनुसार काम गरिरहेको चर्चा गरे । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले राज्य संयन्त्र मानव अधिकारको क्षेत्रमा कमजोर भएको महसुस भइरहेको चर्चा गरे । 
 
कार्यक्रममा सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानव अधिकार क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो । 

शेयर गर्नुहोस:

0
Shares