काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महरा प्रकरणमा कुनै तजविज नराखी अविलम्व कानुन बमोजिम छानबिन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले महरा प्रकरणलाई सामसुम बनाउने खेल भएको आशंका व्यक्त गर्दै त्यस्तो नसोच्न सचेतसमेत गराएका छन् ।
थापाले महरा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै सरकारलाई लाचारी नदेखाउनसमेत भनेका छन् । उनले सरकारको लाचारीकै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न नदिने बताएका छन् ।
उनले लेखेका छन्– प्रधानमन्त्रीज्यू, महरा प्रकरणमा कुनै तजबिज नराखी अविलम्ब कानुनबमोजिम छानबिन प्रक्रिया अगाडि बढाइयोस् । कानुनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन । यो प्रकरण सामसुम बनाउन सकिन्छ भन्ने नठान्नुहोला । सरकारको लाचारीकै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न दिने छैनौँ ।’
थापाले महरा प्रकरणमै जोडिएका हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षाको विषयमा चासो व्यक्त गरेका छन् । सिवाकोटीलाई सुरक्षा थ्रेट रहेको सन्दर्भमा न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले मनोबल अझ उच्च बनाएर काम गर्न आग्रह गरेका छन् ।
थापाले भनेका छन्– ‘शाहीसत्ता विरुद्धको आन्दोलनमा यस्ता धम्कीको पटकपटक सामना गरेकै होे । मनोबल उच्च बनाउनुहोस् । हिजो निरंकुशता र हिंसाको निशानामा त नडगेको त्यो कलम आज सत्ताको आडमा कसैले कमजोर बनाउन सक्दैन । न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले तपाईंलाई अझै मजवुत बनाएको छ ।’
प्रतिक्रिया