मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अन्तःशुल्क स्टिकर हिनामिना गर्ने दुई डिस्टिलरीका सञ्चालक कारागारमा

अन्तःशुल्क स्टिकर हिनामिना गर्ने दुई डिस्टिलरीका सञ्चालक कारागारमा


पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजस्व छल्ने जिल्लाका दुई डिस्टिलरी सञ्चालकलाई आन्तरिक राजस्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । 
 
जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिस्टिलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । 
 
उदयपुर डिस्टिलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओमप्रकाश कलवारलाई रू २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिस्टिलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र रु पाँच करोड ४७ लाख जरिवाना गरिएको उक्त कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए । 
 
दुवै सञ्चालकको जायजेथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारीसंहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ । 
 
डिस्टिलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायत्व पूरा नगरेको प्रमाणित भएकाले ती उद्योगमा कार्यरत चार नासुलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारबाही गरिने निर्णय भएको कार्यालय प्रमुख कोइरालाको भनाइ थियो ।