मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

डेँगुको प्रकोपले चितवनमा पर्यटक घटे

डेँगुको प्रकोपले चितवनमा पर्यटक घटे


चितवन । चितवनमा गत साउन महिनादेखि क्रमशः बढेको डेँगुको संक्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । डेँगुको प्रकोपकै कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।
 
भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून संख्मा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे । तर, यस वर्ष यो संख्या २०० को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम  छन् । 
 
गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुईवटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र चितवनमा आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट पर्यटक बसमा सर्वसाधारण चढ्ने गरेका  कारण ती बसले खर्च धानेको जनाइएको छ । 
 
सौराहा क्षेत्रमा अझैसम्म डेँगु नदेखिए पनि जिल्लाको सहरी क्षेत्रमा डेँगुको प्रकोप देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताए । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेँगुको संक्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । 
 
पछिल्लो समयमा सौराहा क्षेत्रमा डेँगुको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको संख्या घटेर गएको र अहिले डेँगु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो ।
चितवनमा हाल ३५ सयको संख्यामा डेँगु संक्रमितले उपचार गराइरहेका छन् । तीमध्ये २५ सयको हाराहारीमा चितवनका बिरामी छन् ।
 
सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता रहे पनि  यहाँ डेँगुको संक्रमण नरहे पनि पर्यटकको संख्या घटेको छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटकमात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको संख्या पनि बढ्दै जाने विश्वास लिइएको छ । 
 
भरतपुर र आसपासका होटलमा पनि असर
 
भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेँगुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रीम तय भएकोमा डेँगुकै कारण स्थगित भएको छ । 
 
भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेँगुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना  कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेँगुको संक्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ । 
 
होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । केही समययता कोठामा बस्ने र रेष्टुराँमा खान आउनेको संख्या नै घटेको थियो । तर, असोज लागेसँगै डेँगुको संक्रमणमा कमी आएको छ । 
 
दशैँको समयमा डेँगुको संक्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेँगुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण नै स्थगन गरेको बताए ।