मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सधैँ घाटामा जाने विद्युत् प्राधिकरण सात अर्ब नाफामा

सधैँ घाटामा जाने विद्युत् प्राधिकरण सात अर्ब नाफामा


काठमाडौं । विगत लामो समयदेखि घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले एकै वर्षमा १ सय ४९ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । 
 
प्राधिकरण अघिल्लो आव अर्थात् २०७४/७५ मा दुई अर्ब ९० करोड मात्रै मुनाफामा थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विगतका वर्षभन्दा गत वर्ष विद्युत् उत्पादन, वितरण खपतमा वृद्धि भएकाले मुनाफा पनि बढ्न गएको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा करिब २६ प्रतिशतमा रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशतमा सीमित भएको बताए । 
 
तीन वर्षभित्र १० दशमलव ४६ प्रतिशतले विद्युत् चुहावट नियन्त्रण भएको पनि उनले जानकारी दिए । अघिल्लो आवमा विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत र २०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत चुहावट रहेको थियो । घिसिङले चुहावट नियन्त्रणमा प्राधिकारण झण्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगेको दाबीसमेत गरे । उनका अनुसार दक्षिण एसियाली मुलुकमा करिब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ ।
 
प्र्राधिकारणले गत आवमा साँवा १ अर्ब र विगतका वर्षको ब्याजसमेत गरेर १३ अर्ब १६ करोड र रोयल्टीवापत १ अर्ब ४४ करोड गरी कुल १५ अर्ब ५९ करोड सरकारलाई भुक्तानी गरिएको जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड विद्युत् निर्यात गरेको छ भने २३ अर्ब ३ करोडको आयात गरेको छ । 
 
कुल विद्युत् उपलब्धता ७ अर्ब ५५ करोड युनिटमध्ये प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको छ । विद्युत् खरिदतर्फ निजी उत्पादकबाट १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रहेको छ । प्राधिकरणका अनुसार गत आवमा ७ सय ५७ सर्किट किमी लाइन सम्पन्न गरी ६ सय ६ सर्किट किमी चार्ज भएको, वितरण लाइनतर्फ ९ हजार ७ सय २२ सर्किट किमी लाइन निर्माण सम्पन्न भई चार्ज भएको छ । गत वर्षमै प्रसारण र वितरण गरी ४० वटा सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरी करिब ९ सय २० एमभिए क्षमता वितरण प्रणालीमा थप भएको छ ।
 
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालको ऊर्जा क्षेत्रमा तीन÷चार वर्ष अगाडिको स्थिति र हालको स्थिति धेरै परिर्वतन भएको बताए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत्का अरू रूपहरू पनि स्थापना गरी सकेसम्म आम नागरिक विद्युत्को पहुँचमा पु¥याउने बताए । गत वर्षसम्म राष्ट्रिय प्रसारणमा आबद्ध भई विद्युत् उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । 
 
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । हाल ४५ लाख घरधुरी ग्रीडमा जोडिएका छन् । मन्त्री पुनले उत्पादनसँगै वितरण प्रणाली सुधार अबको लक्ष्य भएको बताएका छन् । नेपालमा खपत भएर बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्ने आधारका रूपमा नेपाल, भारत र बंगलादेश जोड्ने गरी त्रिदेशीय डेडिकेटेड लाइन निर्माण गरिने उनले बताए ।
 
गत आवमा रुग्ण अवस्थामा रहेका ३८ आयोजनाको निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ आयोजना गत आवमा सम्पन्न भएका हुन् । ६० मेगावाटको त्रिशूली ३ ‘ए’ तथा काबेली करिडोरलगायत ३८ रग्ण आयोजना सम्पन्न भएका छन् भने १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया गरिएको उनले बताए । 
 
त्यस्तै, प्राधिकरणले देशभर रहेका थ्री फेज मिटर तथा टिओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम सुरु गरिएको जनाएको छ । काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्ने काम सुरु भइसकेको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए ।