न्युयाेर्क स्थित महाबाणिज्य दूतावासको कार्यालयमा एकजना ५९ वर्षीया महिला कागजातहरुको पोको बोकेर आइन् । उनलाई सहयोग गर्न हतारिएका वाणिज्यदूत कृसु क्षेत्री त्यतिबेला छक्क परे जब ती महिला आफ्नो कार्यालय आउनुको कारण थाहा पाए । उनी त श्रीमानसंग पारापाचुके (सम्बन्ध बिच्छेद/डिभोर्स)का लागि आएकी रहेछिन् ।
कार्यालयका कर्मचारीहरुको अनौपचारिक जिज्ञासामा उनी डिभोर्स नगरी नछाड्ने अडानमा देखिइन् । डिभोर्स गर्नाेस् या नगर्नाेस् भन्ने अधिकारै नहुने हुँदा कर्मचारीहरुले खुरुखुरु उनको काम अघि बढाए । अनौपचारिकै रुपमा अन्तिममा सोधे, ‘यो उमेरमा डिभोर्स किन आमा ?’ उनले भनिन्, ‘त्यस्तै प¥यो ।’
नेपालीको चिनारी थियो—परम्परागत बिहे गर्ने र आजीवन एउटै सम्बन्धमा रमाउने । संयुक्त परिवार, बाँचुञ्जेलसम्म उही दाम्पत्य नेपाली समाजका विशेषता मानिन्थे । स्वतन्त्रताको पर्यायजस्तो मानिने देश अमेरिकामा रहेका नेपाली दम्पत्तीबीच भने सम्बन्ध बिच्छेदको क्रम बढ्दो देखिन्छ । जसै नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ, पारापाचुके पनि बढ्दैछ ।
महावाणिज्यदूतावास होस् या राजदूतावास अथवा कानुन व्यवसायीहरुको रेकर्डले पछिल्लो समय सम्बन्ध बिच्छेदको दर बढिरहेको देखाउँछ । संसारमा सबैभन्दा धेरै डिभोर्स हुने देशमा नेपाल दर्ज भइसकेको भने छैन । सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत दम्पतीको डिभोर्स हुने भन्दै लक्जम्बर्ग पहिलो नम्बरमा रहेको अस्ट्रेलियन पारिवारिक लयर्सहरुको संस्थाको अनुसन्धानले देखाएको छ । स्पेनी ६५ प्रतिशत जोडीको डिभोर्स हुने गरेको उक्त अनुसन्धानमा उल्लेख छ ।
अधिकार संस्थाकी प्रोग्राम डाइरेक्टर नर्वदा क्षेत्री भन्छिन्, ‘नेपालीहरुको डिभोर्स घटेको छैन । बढेको बढ्यै छ । पहिला त मान्छेलाई कहाँ भन्ने पनि थाहा थिएन । अहिले त न्याया दिने ठाँउहरु भएकाले पनि बोल्न थालेका छन् । ठाउँ छ भनेर पनि डिभोर्स भएको हुनसक्छ । जनसंख्या बढेको कारण पनि डिभोर्स बढेको देखिन्छ ।’
नर्वदा आफ्नो कार्यालयमा महिनामा २ वटा सम्बन्ध बिच्छेदका केसहरु आइरहने गरेको सुनाउँछिन् । कृसु पनि त्यस्तै तथ्यांक सुनाउँछन् । नर्वदा भन्छिन्, ‘हामीलाई सियाटलबाट कल आउँछ, बाल्टिमोरबाट, कनेक्टिकेटबाट, क्यालिफोर्नियाबाट जताततैबाट फोन आउँछ डिभोर्सको केस लिएर ।’
उनको कार्यालयमा कहिलेकाहिँ हप्तामै २ वटासम्म केस आएका उदाहरण छन् । कृसु भन्छन्, ‘कन्सुलर अफिस खोलेयता अप्रत्यासित रुपमा बढेको सम्बन्ध बिच्छेककै मुद्दा हो । झन्झन् बढेको बढ्यै छ । सन् २०१५ अगस्टमा कन्सुलेट अफिस खोलियो । २०१६ मा १५ माभन्दा बढ्यो ।’
अमेरिका त स्वतन्त्रता भएको मुलुक । यहाँको कानुनको सदुपयोग गर्दै स्वतन्त्र हुन चाहेको पनि हुन सक्छ भन्ने कृसुको विचार छ । उनको भनाइमा श्रीमान्बाट श्रीमती पीडित भएका धेरै केस छन् । नेपालमा घरेलु हिंसाको कुसंस्सार भएको हुँदा त्यसको झल्को अमेरिकामा पनि देखिएको उनी बताउँछन् । नर्वदा भन्छिन्, ‘नेपालकै बानी नसुधारेर पनि डिभोर्स भएको छ ।’ श्रीमतीमाथि हातपातै गर्ने श्रीमान्हरु पनि थुप्रै भेटिन्छन् । बच्चाको लागि भनेर कतिले सहेर बसेका पनि छन् । थुप्रैलाई त म सम्झाएर पठाएकी छु भन्छिन् नर्वदा । ‘मैले मिलाएको परिवार पनि थुप्रै छन् । पिट्न थालेको छ र अत्याचार गरेको छ भनेमात्रै म मिलाउँदिन,’ उनले नेपालयसँग भनिन् ।
नर्वदाका अनुभवमा पहिला अमेरिका आउने भनेपछि आँखा चिम्लेर आउँछन् । आइसकेपछि भनेजस्तो हुँदैन । अनि डिभोर्स हुन्छ । धेरैजसो त केटीहरु नै हिंसामा परेका देखिन्छ । योङहरुको पनि डिभोर्स भइरहेको छ । ४५ भन्दा कम २५ भन्दा माथिका जोडीको डिभोर्स धेरै भइरहेको छ ।
‘अमेरिका आउने भनेपछि केटाले केटीको र केटीले केटाको बारेमा सोच्दैन । अमेरिका आउने बहाना भएपछि पुग्ने भनेर आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ आएपछि एकअर्काको खोट देख्छन् । नेपालमा जस्तो बसेर काम नगरी खान मिल्दैन । कसैलाई यहाँ आउनेबित्तिकै यहाँको हावा लाग्छ ।’
कसैको श्रीमान् अमेरिका आउँछन् । कसैको श्रीमती आउँछन् । कागज बनाउनका लागि प्रयास गर्छन् ।
प्रयास गर्दागर्दै विफल हुन थाल्दा दुरी बढ्छ । कसैको आर्थिक कारणले पनि डिभोर्स भइरहेको छ । फलानाले कमायो । हाम्रो कमाइ भएको छैन भन्ने हुन्छ । डिभोर्सको सबैभन्दा ठूलो कारणचाहिँ आर्थिक कारणै देखिन्छ । आप्रबासी हुनुको कारण । समझदारी नहुनु अर्काे मुख्य कारण हो । एकअर्काले समय दिन नसक्दा पनि डिभोर्स बढेको छ । ‘बाहिरको मान्छे राम्रो देखेपछि घरको मान्छे नराम्रो देख्नेहरु पनि होलान्,’ नर्वदा भन्छिन् ।
बालबच्चा भएकाहरुको डिभोर्स हुन लाग्दा नर्वदाहरुलाई नरमाइलो लाग्छ । उनी सम्झाउने कोसिस गर्छिन् । डिभोर्स भइसकेपछि छोरी मान्छेको जीवन कठिन हुने उनको विचार छ । ‘बच्चा भएका नभएका दुवैथरीलाई पहिला त हामी सम्झाउँछौं । बच्चा भएको मान्छे त सकेसम्म नछुट्टिदियोस् भन्ने लाग्छ । बच्चा भएको मान्छेलाई साह्रै गाह्रो हुन्छ । आमा बाबुको झगडाले नानीहरुलाई मानसिक रुपमा असर परेको देखेकी पनि छु,’ उनी भन्छिन्, ‘घरभाडा तिर्न सकेनन् भने पनि उठाएर खोजेर तिर्दिने गरेकी छु । केटी मान्छेहरुलाई साह्रै गाह्रो हुन्छ डिभोर्सको बेला ।’
सम्बन्ध बिच्छेद बढ्यो भनेर सकारात्मक रुपमा हेर्न पनि सकिन्छ भन्छन् कृसु । अन्यायमा बस्नुभन्दा स्वतन्त्र जीवन बाँच्नु राम्रो भन्ने अर्थमा सम्बन्ध बिच्छेद सकारात्मक पनि छ ।
कागजात मिलाउनकै लागि कतिले सम्बन्ध बिच्छेद गरेको भन्ने पनि छ । तर वाणिज्यदूत कृसु भने अहिले त्यस्तो न्यून छ भन्छन् । उनको भनाइमा अहिलेको सम्बन्ध बिच्छेद पारिवारिक बिखण्डन र दरार नै हो । ‘श्रीमान् श्रीमती देश बाहिर हुँदा पनि सम्बन्ध बिच्छेद भएको पनि देखिन्छ । कसैको श्रीमती अमेरिका छन्, श्रीमान नेपालमा । कसैको श्रीमान् अमेरिकामा छन्, श्रीमती नेपालमा,’ उनी भन्छन्, ‘भौतिक सुखले मात्रै नपुगेरै सम्बन्ध बिच्छेद गरेका उदाहरण पनि छन् । एकजना अमेरिकामा छ । अर्काे नेपालमा छ । सुखसुविधा भए पनि साथै नभएपछि सम्बन्ध बिच्छेद गरेका छन् ।’
नेपालीको पहिचान पारिवारिक मेल र एकता हो । विवाह भनेको सहमतिमै चलाउने हो । तर एक वर्ष पर हुनेबित्तिकै सम्बन्ध बिच्छेद हुँदाखेरी नेपाली संस्कृति बदलिएको देखिन्छ । यसमा दुईकदम पछाडि सरेर भए पनि समझदारीको खोजी भएदियो भने सम्बन्ध बिच्छेद हुन पाउँदैन भन्ने कृसु ठान्छन् ।
सम्बन्ध बिच्छेदका लागि महावाणिज्यदूताबास पुग्नेहरुलाई मिल्नोस् भन्ने अधिकार त्यहाँका कर्मचारीलाई हुँदैन । अनौपचारिकै रुपमा भए पनि सम्झाउने प्रयास भने गरिन्छ । ‘हामीलाई मिल्नोस् भन्ने अधिकार छैन । सही गर्नुअघि मिल्नका लागि अझै प्रयास गर्नु न भन्छु अनौपचारिक रुपमा । तर हाम्रो अनौपचारिक प्रयास सफल हुँदैन,’ कृसु भन्छन्, ‘सबै ढोकाहरु बन्द गरेर सम्बन्ध बिच्छेदको ढोकामा आइपुग्नुभएको हुन्छ ।’
नेपाली नागरिकले अमेरिकाका कार्यालयमा सम्बन्ध बिच्छेद गर्न पाउँदैनन् । त्यसैले अमेरिकी ग्रिनकार्ड भएका नेपालीहरु नै वाणिज्यदूताबास पुग्छन् । कृसु आफ्नो कार्यालयमा अनेक दृश्य देखिएको रोचक अनुभव पनि सुनाउँछन् । भन्छन्, ‘सम्बन्ध बिच्छेद गर्न आएकामध्ये श्रीमान् नबसिन्जेल श्रीमती बसेकी छैनन् । श्रीमतीले चिया नखाइन्जेल श्रीमान्ले नखाने । खाऊ न भन्ने । त्यस्ता दृश्य पनि देखिन्छन् ।’
डिभोर्स कसैको नियन्त्रणमा छैन । अमेरिकामा त डिभोर्सको कानुन सजिलो छ । त्यसैले पनि डिभोर्स बढेको हुनुपर्छ भन्ने ठान्छिन् नर्वदा ।
डिभोर्सका लागि महावाणिज्यदूताबास बाहेक सिधै दूताबासमा पनि पुग्नेहरु हुन्छन् । अमेरिकाका लागि नेपालको राजदूताबास वासिङटनमै छ । त्यो दूताबासका अधिकारीहरुले नेपाली जोडीको डिभोर्सको संख्या उपलब्ध गराउन इन्कार गरेको छ । नेपाललयको उक्त कार्यालयबाट तथ्यांक प्राप्त गर्न सकेन । यता वाणिज्यदूताबासबाट भने प्राप्त तथ्यांक अनुसार २०७३ सालमा २३, ७४ मा ३२ र ७५ मा ६० जोडीको डिभोर्स भएको छ ।
अस्ट्रेलियन पारिवारिक लयर्सहरुको संस्थाको अनुसन्धानले जनाएअनुसार सबैभन्दा कम डिभोर्स हुने जोडी धार्मिक हिसाबले हिन्दु हुन् । यो धर्मालम्बीका दम्पतीमध्ये १ प्रतिशतको मात्रै डिभोर्स हुने गरेको उक्त संस्थाले उल्लेख गरेको छ । डिभोर्स धेरै हुने देशमा तेस्रोमा फ्रान्स, चौथोमा रसिया र पाँचौमा अमेरिका छन् ।
प्रतिक्रिया