मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु


रामपुर । निस्दी गाउँपालिका पाल्पामा जंगली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ६ जनाको मृत्यु भएको छ । 
 
गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जंगली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी–३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चारवर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको संघीय सांसद् दलबहादुर रानाले जानकारी दिए ।  
 
बिरामीमध्य निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए । 
 
रामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँैंलगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 
बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता गरिएको छ  ।  अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र  धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
 
पाल्पा सदरमुकाम तानसेनदेखि करिब ७० किमी पूर्व सार्कीडाडाँका विकटका  चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए ।  बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यवस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद् रानाले बताए ।
 
आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुग्नुभएका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए ।
 
उनले पटक पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदँ सचेत रहन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलिका साथ सबै बिरामीको स्वास्थ्यलाभको कामना गरे ।