न्यूयोक (अमेरिका) – आइतबार राती बारा र पर्सामा गएको आँधी पीडितका लागि भन्दै अमेरिकामा भटाभट चन्दा संकलन सुरु भएको छ । यसरी संकलन हुने चन्दा दुरुपयोगको संभावना बढेको छ ।
अमेरिकामा रहेका केही नेपाली व्यक्ति तथा संस्थाहरुले आँधी पीडितका लागि भन्दै कतिपय ठाउँमा फेसबुक मार्फत त धेरैले गोफण्ड खोलेर चन्दा संकलनलाई तीब्र बनाएका छन् । अमेरिकामा आइतबार दिउँसैदेखि यसरी चन्दा संकलन तीब्र भएको छ । अहिलेसम्म अाँधी पीडितका लागि भन्दै अाधा दर्जन गोफण्ड खाता सामाजीक सञ्जालहरूमा देखिएका छन् ।
दर्ता समेत नभएका संस्थाका नाममा गोफण्ड खाता खोलेर चन्दा संकलन थालिएको छ । झण्डै चार वर्ष अघि नेपालमा गएको भुकम्पको समयमा मनलाग्दी रुपमा संकलन गरिएका चन्दा रकम दुरुपयोग भएका थिए । त्यतिखेरको हिसाब किताब अहिलेसम्म पारदर्शी भएको छैन ।
त्यतिखेर व्यक्ति तथा संस्थाहरुले मनलाग्दी रुपमा गोफण्ड खाता खोलेका थिए । भुकम्प पीडितसम्म त्यसरी संकलन भएको रकम पुगेन ।
अहिले फेरि गोफण्ड खोलेर केही व्यक्ति तथा दर्ता नभएका संस्थाका पदाधिकारीहरु चन्दा माग्नका लागि फोनबाट तथा सामाजीक सञ्जालबाट आग्रह गरिरहेका छन् । त्यस्ता व्यक्तिहरु तथा संस्थाले आँधी पीडितलाई भन्दै चन्दा उठाएर यही खाने मेलो गरिरहेको गुनासो हिमालयखबरलाई प्राप्त भएको छ ।
चन्दा दिँदा संस्था अमेरिकामा दर्ता भएको हो या होइन ? कस्ता व्यक्तिहरुको संलग्नतामा गोफण्ड खोलेर सहयोग मागिएको छ ? भन्ने जस्ता कुराहरुलाई मिहिन रुपमा अध्ययन गर्न समेत सामाजीक कार्यकर्ताहरुले सुझाव दिएका छन् । समाजमा नैतिकताहिन भनेर चिनिएका व्यक्तिहरु अहिले आँधीपीडितका नाममा गोफण्ड खोलेर सहयोगका लागि हात पसारिरहेका छन् ।
आर्थिक रुपमा इमान्दार र आधिकारिक संस्थाले खोलेको गोफण्डमा मात्र सहयोग गर्न समाजसेवीहरुले सुझाव दिएका छन् ।
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३२ पुगिसकेको छ । सातसय भन्दा बढी घाइते छन् ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
प्रतिक्रिया