हिमालयखबर संबाददादा –
न्यूयोर्क (अमेरिका) । अमेरिकामा नेपालबाट नेताहरुको लर्को लाग्ने क्रम निरन्तर जारी छ । पत्नीको उपचारका लागि अमेरिका आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल उँडेको १२ घण्टा नहुँदै नेकपाका अर्का वरिष्ठ नेता तथा रक्षामन्त्री इश्वर पोखरेल अमेरिका उत्रिएका छन् ।
उता नेपाली कांग्रेसका जल्दाबल्दा नेता गगन थापा पनि अमेरिका आइपुगेका छन् । रक्षामन्त्री पोखरेल सरकारी कार्यक्रमको सिलसिलामा अमेरिका आएका हुन् । उता गगन थापा हार्वर्ड युनिभर्सिटीका दुई हप्ते लामो अध्ययनका लागि आइपुगेका छन् । उनको क्लास बुधबारबाटै सुरु भएको छ ।
राष्ट्रसंघीय शान्ति मिसन अन्तरगतको शान्ति सेनाको दक्षता, क्षमता र सुरक्षा संबन्धि कार्यक्रममा भाग लिन पोखरेल आइपुगेका हुन् । उनले राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको तर्फबाट संबोधन गर्नेछन् ।
अमेरिकाबाट दुई साता अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारी फर्किनुभएको थियो । विपरित गोलार्धमा भएपनि अमेरिका नेपालका नेता, मन्त्री, प्रशासकदेखि लिएर आम ओहोदाधारीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । राष्ट्रपति भण्डारीका साथमा मन्त्रीहरु समेत आएका थिए ।
राष्ट्रपति भण्डारी न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी भएपनि प्रचण्ड भने कुनै पनि औपचारिक कार्यक्रममा सरिक भएनन् । पत्नीको उपचारमै उनी केन्द्रित थिए । मेरिल्याण्डको जोन हप्किन्स अस्पतालमा उपचार गराउने क्रममा उनी १० दिन अमेरिका बसे । डिसी हुँदै अमेरिका प्रवेश गरेका प्रचण्ड फर्किदा भने न्यूयोर्कको जेएफके इन्टरनेसनल एअरपोर्टबाट फर्किएका छन् ।
प्रचण्डलाई ‘युद्ध अपराधी’ भन्दै केही व्यक्ति र संस्थाहरुले अमेरिकामा उजुरी समेत दिएका थिए । तर त्यो उजुरी कुनै काम लागेन । उल्टै प्रचण्डसँग अमेरिकी सरकारका केही उच्च अधिकारीहरु, पूर्ब राजदूतले समेत भेटेर नेपालको शान्ति प्रकृयाको प्रशंसा गरेको समाचारहरु प्रकाशित भएका छन् ।
प्रचण्डले मेरिल्याण्ड विधानसभामा हालै निर्वाचित नेपाली मुलका ह्यारी भण्डारीसँग पनि भेट गरेका थिए ।
प्रतिक्रिया