मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टि–२० सिरिजमा युएईविरुद्ध नेपालले रच्यो अर्को इतिहास

टि–२० सिरिजमा युएईविरुद्ध नेपालले रच्यो अर्को इतिहास


काठमाडौं । अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले अर्को इतिहास रचेको छ । विश्वकप टि–ट्वान्टी खेलेर इतिहास बनाएको नेपालले पहिलोपटक टि–२० सिरिज जितेर अर्को इतिहास बनाएको हो ।
 
युएईविरुद्धको तीन टि–२० सिरिज नेपालले २–१ ले जित्दै इतिहास रचेको हो । आज भएको सिरिजको निर्णायक तथा अन्तिम खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्‍यो । 
 
१०५ रनको लक्ष्य पछ्याएको युएईलाई ९०/८ रनमा रोक्ने क्रममा नेपालका ललित नारायण राजवंशी, करन केसी र अविनाश बोहराले समान २/२, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए । युएइका लागि सैमन अनवारले ३०, घुलम सब्बरले २५ रन बनाए ।
 
यसअघि वर्षाले प्रभावित खेलमा टस हारेर पहिले व्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । वर्षाले ढिलो भएको खेल १० ओभरमा छोट्याइएको थियो । 
 
नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन, सन्दीप जोराले ११ बलमा २८ रन, विनोद भण्डारीले १३ बलमा २१ रन, करन केसीले ५ बलमा १० रन, ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन बनाए भने ओपनर पवन सराफ खाता नखोल्दै आउट भए ।
 
तीन खेलको सिरिजको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।