चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई अनावश्यक उचालेर राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहनत्ती थापाले निर्मला हत्याकाण्डलाई जोडेर अपराधको राजनीतिकरण गरिएको आरोप लगाउँदै उनले सरकारले घटनाको अनुसन्धान अघि बढाएर आफ्नो काम गरिरहेको अवस्थामा सरकारविरोधी शक्तिले घटना उचालिरहेको बताए ।
उनले भने, ‘छानबिन गरेर अपराधीलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहँदा यो विषयलाई उचालिएको छ । यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिँदैछ ।’
निर्मला पन्त हत्याको विषयलाई लिएर गठित उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै त्यो सार्वजनिक गरी अपराधी पक्राउ गरेरै छाड्ने उनले दाबी गरे ।
छानबिन समितिको प्रतिवेदनको आधारमा अनुसन्धानको प्रक्रिया तीव्र पारिएको बताउँदै उनले दोषी छिट्टै पत्ता लाग्ने आशा व्यक्त गरे ।
निर्मला पन्तजस्तै सयौँको संख्यामा बलात्कृत भइरहेका छन् । सरकार त्यसको नियन्त्रणमा लागिपरेको छ । तर, निर्मला हत्यालाई राजनीतिकरण गरिएको उनको भनाइ थियो ।
उनले भने, ‘ निर्मला हत्याको अनुसन्धान नथालेको भए, दोषी बचाउने काम गरेको भए सरकारले आफ्नो दायित्व पूरा गरेन भन्न मिल्थ्यो’ मन्त्री थापाले भने ‘जसरी यो विषयलाई उचालिएको छ, यसबाट अपराधलाई राजनीतिकरण भएको छ ।’
घरेलु हिंसाका कारण महिला हिंसा बढेको भन्दै मदिराको बिक्री वितरणमा नियमन गरेर व्यवस्थित गरिने उनले बताए ।
यसैगरी, साढे ३३ किलो सुन प्रकरणको अनुसन्धान जारी रहेको मन्त्री थापाले बताए । त्यसअघि पनि चार हजार किलो सुन तस्करी त्यसरी नै हुने गरेको तथ्य गृह प्रशासनले पत्ता लगाएको भन्दै तस्करीको जालो भत्काएको दाबी गरे ।
‘साना-ठूला माछा जालमा परिसकेका छन्,कतिपय जालमा आउन बाँकी छ’, थापाले भने, ‘सबैलाई कानुनी घेरामा ल्याउन प्रक्रिया अघि बढिरहन्छ।’
प्रतिक्रिया