मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहे गर्न नमानेको भन्दै युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर (भिडियो)

बिहे गर्न नमानेको भन्दै युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर (भिडियो)


चितवन । नवलपुरको कावासोती नगरपालिका–९ स्थित डण्डाबजारकी वसन्ती परियार एसिड आक्रमणमा परेर गम्भीर घाइते भएकी छन् ।
 
एसिडसँगै उनीमाथि छुरा प्रहार हुँदा उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न जनरल सर्जन डा सुरेश प्रधानले बताएका छन् ।
 
एसिड आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको निधन भएको खबर सेलाउन नपाउँदै वसन्तीमाथि एसिड आक्रमण भएको हो ।
 
चिकित्सकका अनुसार ती युवतीको एसिडबाट एकचौथाइ भाग शरीर जलेको छ भने छुरा प्रहारबाट छातीमा चक्कुले छेडेर फोक्सो नजिक पुगेको छ । पेटमा छुरा गड्दा सानो आन्द्रासमेत बाहिर निस्किएको डा प्रधानले जनाएका छन् ।
 
अपराधीले दुवै गालामा एसिडसँगै चक्कु प्रहार गरेको थियो । जसका कारण दायाँ गालाको हड्डी नै भाँचिएको पाइएको छ । एसिड प्रहारका कारण वसन्तीको अनुहार, घाँटी, छाती र पाखुरा जलेको छ । आँखामा समेत क्षति पुगेको छ ।
 
अहिले भरतपुर अस्पतालको आईसीयूको भेन्टिलेटरमा वसन्तीको उपचार जारी छ । आकस्मिक कक्षमा भर्ना भएकी उनको सर्जन डा। सुरेश प्रधान, डा। प्रितम गुरूङ, डा। ज्ञानेन्द्र न्यौपानेलगायतको टिमले अप्रेसन गरेको हो । डा प्रधानका अनुसार युवतीको अवस्था जटिल रहेकाले यसै भन्न सकिने अवस्था छैन । उनको अझै होस खुलेको छैन ।
 
आक्रमणकारी विमल सिर्पाली पक्राउ 
 
यसैबीच, वसन्तीमाथि एसिड प्रहार गर्ने विमल सिर्पाली पक्राउ परेका छन् । उनले अपराध स्वीकार गरेको नवलपुर प्रहरीले जनाएको छ । आरोपित विमलले आफू वसन्तीसँग प्रेम सम्बन्धमा रहेको र पूर्वसहमतिअनुसार विवाह गर्न नमानेका कारण आक्रमण गरेको बयान दिएको नवलपुर प्रहरी प्रमुख रमेश थापाले बताए ।
 
वसन्ती र विमल छिमेकी हुन् । वसन्ती विवाहिता हुन् । उनका दुई सन्तान छन् । उनका श्रीमान् मलेसियाबाट हालसालै नेपाल फर्किएका थिए ।
 
आइतबार भएको घटनामा वसन्तीकी छोरी चाउचाउ किन्न बजार गएको मौका छोपी विमलले एसिड आक्रमण गरेको बताइएको छ । तरकारी किनेर फर्किएका विमलले पछाडिबाट वसन्तीको कपाल समातेर अनुहारमा एसिड छ्यापेका थिए ।
 
विमल र वसन्तीका श्रीमान् साथी हुन् । उनीहरुको एकैसमय बिहे भएको थियो भने दुवै मलेसिया गएका थिए । 
 
विमलकी श्रीमती माइतीमा रहँदै आएकीले सम्बन्धविच्छेद गर्ने प्रक्रियामा रहेकोले आफ्नी श्रीमतीमाथि आँखा लगाएका कारण यस्तो घटना हुनसक्ने वसन्तीका श्रीमान् यमनारायण परियारले आशंका गरेका छन्। उनले एसिड आक्रमण गर्ने अपराधीमाथि फाँसीको सजाय गरिनुपर्ने माग राखेका छन् ।