हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेपाल पूर्वाधार विकास कम्पनीप्रति आक्रोशित भएका छन् । कम्पनीले निर्माण गर्ने भनेको सुरूङमार्ग निर्माण हुनेप्रति जनता विश्वस्त नभएको बताउँदै अब प्रदेश सरकारले बनाउन खोजेको सुरूङमार्गमा बाधा हुन नहुनेसमेत उनले बताए ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कम्पनीका प्रतिनिधिहरुसँग भएको छलफलमा उनले कम्पनीले निर्माण गर्ने भनेको हेटौँडा–कुलेखानी–काठमाडौँ सुरूङमार्ग निर्माण गर्ने आधार नै नभएको भन्दै जनता विस्वस्त हुन नसकेको बताए ।
धेरै वर्षअगाडिबाट नेपाली जनताले सुरूङमार्गको सपना देखेको भए पनि कम्पनीले जनतालाई निराश तुल्याएको उनको भनाइ छ । कम्पनीकै कारण सुरूङमार्गको सपना पूरा नभएकोले अब प्रदेश सरकारले सुरूङमार्ग निर्माण गर्ने मुख्यमन्त्री पौडेलले दाबी गरेका हुन् । उनले पूर्वाधार कम्पनीले सुरूङमार्ग बनाउने कुरा अनिश्चित भएको भन्दै निर्माण गर्ने आधार पनि नभएको बताए ।
२० वर्षअघिदेखिको सुरूङमार्ग निर्माणको सपना भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरवको आयोजना भएको बताए । उनले भने, ‘तपाईंहरुले निर्माण गर्ने समयावधिमा काम सुरू गरेको भए हामी अहिले सुरूङबाट हेटौँडा–काठमाडौँ गरिरहेका हुन्थ्यौँ ।’ कम्पनीले अझै पनि सुरूङमार्ग निर्माण गर्ने भनेर अलमल गर्न खोजेको उनले बताए ।
उनले भने, ‘अहिले सम्झौता भएको छ भनेर एक वर्ष, दुई वर्ष अलमलाउनुहोला, यतिका वर्ष त अलमल्याउनुभयो, त्यसैले अब विश्वास गर्न सकिँदैन ।’ प्रदेश सरकारले २ देखि साढे २ वर्षमा सुरूङमार्ग निर्माण सक्ने पनि उनले बताए । उनले यो परियोजना निर्माणका लागि क्षण–क्षणको महत्व रहेको भन्दै यसलाई कसैले रोकेर नरोकिने समेत बताए ।
गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेको कम्पनीका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष लालकृष्ण केसीलगायतको टोली सुरूङमार्ग आफैँ निर्माण गर्ने भन्दै सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीकहाँ पुगेका थिए ।
सुरूङमार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)का लागि प्रदेश सरकारले ५ करोड रकमसमेत विनियोजन गरेको छ ।
सरकारले पोष्टबहादुर बोगटी हेटौँडा–काठमाडौँ सुरूङमार्ग नामको परियोजना निर्माण गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया