नेपाल

जीप दुर्घटनामा अस्ट्रेलियन दम्पतीको मृत्यु, सातजना घाइते

जीप दुर्घटनामा अस्ट्रेलियन दम्पतीको मृत्यु, सातजना घाइते


काठमाडौँ । काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको टाटा सुमोे जीप सोमबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 
सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ । 
 
मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिए । 
 
घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ, काठमाडौँ कागेश्वरी–५ मनोहराका मनोज रोका, कीर्तिपुरका सिर्जन बस्नेत, जोरपाटीका यान्धेन लामा र बाराका अर्जुन पाण्डे रहेका छन् । 
 
ना१ज ७९६९ नम्बरको सो जीपमा चालकसहित दुई विदेशी र छ जना नेपाली नागरिक सवार थिए । जीप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएकोे छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।