काठमाडौँ । सत्तारुढ दल नेकपाका चितवनका सांसद कृष्णभक्त पोखरेलले सरकारलाई असफल पार्ने नियतले चिकित्सकहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा सांसद पोखरेलले कानुन संशोधन गर्नको लागि एकाध महिना लाग्ने भएकोले चिकित्सकहरुले तुरुन्त आन्दोलन फिर्ता गरी बिरामीलाई सेवा दिनुपर्ने बताए ।
उनले भने, ‘आन्दोलनबाट समस्याको समाधान खोज्न जरुरी छैन् ।’ उनले वर्तमान सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन गरेको बताए ।
मान्छेको जीवन रक्षा गर्ने चिकित्सकहरुप्रति सरकारले पूर्वाग्रही रुपमा नहेर्ने सांसद पोखरेलले बताए । उनले भने, ‘यदि कानुनमा केही सुधार गर्नुपर्ने छ भने हामी तयार छौं ।’ आजमात्रै कानूनमन्त्रीले चिकित्सकहरुको माग सम्बोधनको लागि विधायन समितिलाई पत्र पठाएको पनि उनले जनाए ।
उपचारमा डाक्टरहरुले लापरवाही वा हेलचेक्र्याइँ गरेको भनेर छुट्याउने को हो ? भनि चिकित्सकहरुले अघि सारेको तर्कमा आफूहरु पनि सहमत रहेको उनले बताए । उनले भने, ‘उपचारमा लापरवाही वा हेलचेक्र्याँई भएको वा नभएको भनेर छुट्याउनको लागि चिकित्सकहरुले भने बमोजिम समिति गठन गर्न सरकार तयार छ ।’
सांसद पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका छन् ।
उनले भने, ‘चिकित्सकहरु आन्दोलन छोडेर वार्तामा आउनुपर्छ । उहाँहरुको समस्या सुल्झाउन सरकार र सदन दुवै तयार छ ।’
त्यस्तै कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखे ।
प्रतिक्रिया