नातिबाबु भट्ट
कोलोराडो (अमेरिका)– 'मेरो बाबुलाई उठ्न भन्नु न मैले भनेको मानेन, यति धेरै मान्छेले भने पछि त मान्छन् की?' अगष्ट २५ तारिका दिन प्रहरीको गोली लागी मारिएका वीरेन्द्र ठकुरीको आमा सानु ठकुरीले शनिबार छोराको अन्तिम श्रद्धाञ्जली हुँदै गरेको कार्यक्रममा बर्बराउदै बोलिरहेकी थिइन् ।
प्रहरीको गोलीबाट आठ दिन अघि मारिएका वीरेन्द्रको शनिबार कोलोराडोको थ्रोन्टन स्थित डेविड एण्ड टेबलर फ्युनरल सेन्टरमा दाह संस्कार गरिएको छ । उक्त घटनाको कारण अहिले सम्म थाहा भएको छैन । अनुसन्धान जारी रहेको बताइएको छ ।
वीरेन्द्रको सम्झना र मृत आत्माको चिर शान्तिकोलागी एक मिनेट मौन धारणा गर्दै सुरु भएको श्रद्धाञ्जली सभा, पाष्टर बबले क्रिश्चियन धार्मिक परम्परा अनुसार बाइबलका भनाइहरू राख्दै अगाडी बढाएका थिए । वीरेन्द्रका धर्म दिदी अन्जुला अधिकारी, पाष्टर ब्रस थोमस, ठुली आमा शान्ता सापकोटा, उनी सँगै काम गर्ने साथी लोरी, साथी कर्मा शेर्पा लगायतले उनी सँग बिताएका समयहरूको स्मरण गरेका थिए । त्यस्तै वीरेन्द्रको आमा सानु ठकुरीले छोरा सहिद भएको भन्दै छोरालाई न्याय दिलाएर छाड्ने बताएकी थिइन् ।
त्यसै गरी कार्यक्रममा लछुमन राना, रमेश गुरुङ, बुद्धि लामिछाने लगायतका वक्ताहरूले वीरेन्द्र प्रति श्रद्धान्जलि अर्पण गर्दै अमेरिका जस्तो प्रजातान्त्रिक देशमा घटना भएको आठ दिन सम्म पनि घटनाको कारण सार्वजनिक नहुनु उदेक लाग्दो रहेको भनेका थिए । यस घटनाले सम्पूर्ण नेपालीलाई एकजुट परेको भन्दै वीरेन्द्रले न्याय पाउनुपर्ने बताएका थिए । उनीहरूले कानुनी लडाईकोलागी गोफन्ड खोलिएको र यसमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।
श्रद्धान्जली सभामा नेपाली संघ संस्थाका प्रतिनिधि, वीरेन्द्रका परिवार, आफन्त, स्थानीय अमेरिकन, उनका साथीहरू, पत्रकार, ब्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रद्धान्जली सभापछि उपस्थित सबैले उनलाई फुलका गुच्छा खादा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसै गरी आमा सानु ठकुरी र धन पौडेलले नेपाली ढाकाको टोपी लगाई दिई नेपाली झण्डा ओढाएर नेपालीको पहिचाहन दिएका थिए । वीरेन्द्रका मामा हरि ढकालले विद्युतीय स्विच थिचेर वीरेन्द्रलाई अन्तिम बिदाइ गरेका थिए । कार्यक्रम विनोद त्रिपाठीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया