हिमालयखवर संवाददाता-
डेनभर (कोलोराडो) । कोलोराडो ब्रुमफिल्ड स्थित सडकमा नेपाली युवा बीरेन्द्र ठकुरीलाई प्रहरीले किन गोली चलायो भन्नेमा नेपाली समुदायले थप जवाफ खोजिरहेको छ । कुनै हतियार नभएको अवस्थामा ज्यान जाने गरि गोली हानिएकोमा समुदायका सदस्यहरूले आपत्ति जनाइरहेका छन ।
शनिवार साँझ अन्दाजी पाैने ९ बजे ब्रुमफिल्ड स्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड लेक ड्राइभमा प्रहरीले गोली हान्दा नेपाली युवा ठकुरीको निधन भएको थियो । आइतवार नेपाली समुदायका धेरै व्यक्तिहरु पीडितको घरमा पुगेर सान्त्वना दिएका थिए । मृतक बीरेन्द्रको परिवार अहिले गहिरो शोकमा छ ।
स्थानीय मिडियामा आएको समाचार अनुसार सडकमा होहल्ला गरेका हुँदा प्रहरी पुगेको उल्लेख छ । प्रहरीको आदेश नमानेकाले गोली हानिएको पनि मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार गोली हान्ने प्रहरीलाई नियमानुसार बिदामा बस्न लगाईएको छ ।
अमेरिकामा प्रहरीको शरिरमा पनि क्यामरा राखिएको हुन्छ । यो घटनामा थप अनुसन्धान र कानुनी उपचार खोज्ने बारेमा पनि समुदायले सल्लाह दिईरहेको छ । निहत्था माथि सडकमा गोली चलाउनु, प्रहरीले केही विवरण सार्वजनिक नगर्ने यो त हामीलाई वेवास्ता गरेजस्तो भयो, घटना यत्तिकै सामसुम गर्न खोजेजस्तो नियत देखिएको छ, परिवारलाई भेटेर आएका एक नेपाली समुदायमा एक सकृय सदस्यले भने । उनले विस्तृत विवरण आईनसकेकाले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् ।
स्थानीय प्रहरी अधिकारीले आइतबार मृतककी आमासँग भेटेका थिए । त्यस अवसरमा घटनाको सामान्य विवरण दिएको वताईएको छ ।
स्थानीय मिडियाहरुले अहिलेसम्म मृतकको पहिचान खुलाएका छैनन् । प्रहरीको भनाईका आधारमा मात्र समाचार दिएका छन् ।
प्रतिक्रिया