न्यूयोर्क (अमेरिका) – कुटनैतिक सेवामा रहेर पनि साहित्यको क्षेत्रमा निरन्तर कृयाशील कृसु क्षेत्रीको नयाँ कृति ‘चराको गीत’ अाइतबार न्यूयोर्कमा विमोचन गरिएको छ ।
अमेरिकाका लागि नेपाली रातदूत डा. अर्जुनकुमार कार्कीले ज्याक्सन हाइटमा आयोजित समारोहमा उक्त कविता संग्रहको कृति विमोचन गरेका हुन् । कुटनैतिक सेवामा कृष्णकुमार सुवेदीका नामले सुपरिचित क्षेत्री साहित्यका क्षेत्रमा भने कृसुका नामले चर्चित छन् ।
गीत कविता लगायतका विधामा कलम चलाउने साहित्यकार क्षेत्रीले झण्डै १२ वर्षको अन्तराल पछि चराको गीत लिएर आएका हुन् । १२ वर्ष सम्म फुटकर साहित्य रचनामा संलग्न भएर पुनः पुस्तकका रूपमा चराको गीतलाइ लिएर पाठकसामु अाएका हुन् ।
चराको गीत कविता संग्रहलाइ साझा प्रकाशनले बाहिर ल्याएकत्र हो । कार्यक्रममा न्युजर्सी स्थित जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको अध्यक्षता भएको थियो ।
सो अवसरमा क्षेत्रीले आफ्नो कवितासंग्रहमा जीवनका धेरै उतार चढावका विषय समेटिएको जानकारी गराए। ‘मेरो यो कविता संग्रहले शासक र शासित दुवै वर्गलाई सम्बोधन गर्न खोजेको छ,’ उनले भने, ‘मैले ०४३ सालदेखि दोस्रो जनआन्दोलनका केही महत्वपूर्ण मेरा अनुभवलाई यो कृतिमार्फत भन्न खोजेको छु।’
न्युयोर्क र वरपरका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा साहित्यकार क्षेत्रीले आफूले कविता सिर्जना गर्दा भोगेका भोगाई श्रोता सामु सुनाउँदै तथा केही कविताहरू पनि वाचन गरेका थिए ।
बि.स. २०५७ सालमा राष्ट्रव्यापी कविता प्रतियोगीतमा चराको गीत कविता प्रथम भएको थियो । सोही कविताको शीर्षकबाट नै यस कविता संग्रहको नामकरण गरिएको उनले जानकारी दिए ।
क्षेत्रीले देवकोटा शताब्दी स्वर्ण पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायत पुरस्कारबाट सम्मानित क्षेत्रीका यसअघि थुप्रै कविता संग्रह, गजल, काव्य प्रकाशित भइसकेका छन्।
प्रतिक्रिया