नेपाल

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन गर्न देउवाको माग

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन गर्न देउवाको माग


काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । 
 
आइतबारको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गरे । 
 
“बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ”, अर्को प्रसङ्गमा उनले भने । 
 
सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराए । 
 
उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि नेता देउवाले ध्यानाकर्षण गराएका थिए । रासस