मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा अब नेपाली बैँक

न्युयोर्कमा अब नेपाली बैँक


न्युयोर्क (अमेरिका) – अमेरिकामा नेपालीले बैंकिङ कारोबार गर्ने संस्था सञ्चालनको अनुमति पाएका छन् । अमेरिकामा नेपाली समुदायको पनि आफ्नै बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ।
 
एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू)ले अमेरिकी सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए) बाट सञ्चालन अनुमति पाएको हो ।
 
संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अन्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् । अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने भएका छन्।
 
बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य राखेको छ । 
 
न्यूयोर्क, क्विन्सस्थित ज्याक्सन हाइट्सबाट पहिलो बैङ्कङि कारोबार शुरु गर्ने एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीभाषीहरुको घनाबस्ती रहेका राज्यहरु टेक्सस, क्यालिफोर्निया, डिसी भर्जिनिया मेरिल्याण्ड, म्यासच्युसेट, फ्लोरिडा, जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायतका अन्य राज्यहरुका सहरमा  पनि शाखा विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।
 
न्युयोर्कको ज्याक्सन हाइटमा समुदायलक्षित एक भब्य उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधि, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।
 
सो युनियनका संस्थापक सदस्यहरुले तीन वर्षदेखि जटिल कानूनी प्रक्रिया पूरा गरि सञ्चालनको अनुमति पाएका हुन् । आवश्यक कागजात, सर्वेक्षण, ब्यापार योजना, वित्तीय योजना, बजार योजना, संस्था सञ्चालनको बिधान र नीति नियमका विषयमा फेडरल ब्युरो अफ इन्भेटिगेसन(एफबीआइ)सँग बिभिन्न चरणको छलफलपछि क्रेडिट युनियन सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
 
बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ। अमेरिकी सरकारले सामुदायिक बैंकलाई कर छुट दिने भएकाले पनि धेरै नेपाली यसबाट लाभ लिनसक्ने इएफसियूका पादाधिकारी बताउँछन्।
 
अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबैलाई संस्थामा सदस्य र बचतकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । त्यसअनुसार सबै राज्यमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार बचतकर्ता संख्या पुर्याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको संचालकले बताएका छन् ।