मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले जनहितमा काम गर्न सकेन : नेता सिंह

सरकारले जनहितमा काम गर्न सकेन : नेता सिंह


काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले दुईतिहाइ बहुमतको अनुभूति दिलाउने गरी जनहितमा सरकारले काम गर्न नसकेको बताएका छन् । 
 
जैशीदेवल युथ क्लबको रजत महोत्सवका अवसरमा आयोजित समारोहमा उनले ऐन तथा कानून निर्माणजस्ता काम छिटो सकेर जनताको प्रत्यक्ष सरोकार रहने विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउन सुझाव दिए । 
 
काठमाडौँ उपत्यका सडक सुधार र वातावरण संरक्षणका कार्यमा आलोचना र राजनीतिक मात्र नगरी सहयोगी बन्न युवापुस्तालाई सल्लाह दिँदै नेता सिंहले समाजसेवाका माध्यमबाट जैशीदेवल युथ क्लबले जनताको मन जित्न सफल भएको भनी प्रशंसा गरे । 
 
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामाजिक सुधारका काममा क्लबले विशिष्ट योगदान पु¥याइरहेको धारणा व्यक्त गरे । 
 
उपप्रमुख हरिप्रभा खड्गीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माण गर्ने दायित्वलाई अब महानगरपालिकाले तीव्रता प्रदान गर्ने अठोट व्यक्त गरिन् । 
 
क्लबका अध्यक्ष राजेश प्रजापतिले जनचेतना, समाजकल्याण, सांस्कृतिक सम्पदाको जर्गेना, स्वास्थ्य, सरसफाइ, खेलकुद, रक्तदानजस्ता कार्यमा क्लबले स्थानीयसँग हातेमालो गर्दै परिणाम देखिने गरी काम गरिरहेको बताए । 
 
क्लबका महासचिव गोपाल प्रधानले परम्परा, सम्पदा र संस्कृतिको संरक्षण गर्ने काममा जनतासँग मिलेर काम गरिरहेको जानकारी दिए । सो अवसरमा नेता सिहले क्लबद्वारा प्रकाशित ‘रजतउत्सव स्मारिका’ विमोचन गर्नुका क्लबको नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए । समारोहमा क्लबको भवन निर्माणमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । रासस