मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भानुलाई सम्झदै ड्यालस गजलमय

भानुलाई सम्झदै ड्यालस गजलमय


अर्भिङ (टेक्सस) – शनिबारको साँझ फेरि पनि एक पटक ड्यालसमा गजलयम भएको छ । 
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको साहित्यीक कार्यक्रममा चारजना गजलकारहरुले सहभागी श्रोता, दर्शकको मन जितेका छन् । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रमको पहिलो भागमा कविताको प्रस्तुति पछि दोस्रो भागमा चारजना गजलकारहरुले चोटिला गजल प्रस्तुत गरेका थिए ।
 
ड्यालसमा नेपाली समुदायबीच युवापुस्ताका चोटिला गजलकार पवन लामिछानेले मदिरा महात्म्यको गजल प्रस्तुत गर्दा उपस्थित दर्शकहरुले वाहवाहा गर्दै उत्साहित बनाएका थिए ।
 
‘देख्नेलाई मात्र झोल, हुन्छ बोतलभित्र
बुझ्नेलाई पुरै भूगोल, हुन्छ बोतलभित्र
जतिसुकै कडा बनोस् कानुन मदिराको
हुने बेला सिङ्गो टोल, हुन्छ बोतल भित्र ।’
 
लामिछानेलाई माथ गर्दै अर्का वरिष्ठ गजलकार राधाकृष्ण काफ्लेले धर्मपत्नीलाई खुशी तुल्याउन सुनाएको गजल यस्तो थियो ।
 
‘बाहिर सकुशल छु, तर भित्र डर लाग्छ
म चिन्दिन अरु कोही, मात्र तिम्रो भर लाग्छ ।
न चाँदनी हेरेर मुस्कुराउँछु, नत धरती
तिमी पिपल हौ मेरी, म तिम्रै बर लाग्छ ।’
 
ड्यालसको साहित्यिक समुदायमा निकै चोटिलो गजल लेखिकाको परिचय बनाएकी सरु कालीको प्रस्तुति पनि बेजोडको थियो । हँसिलो मुद्रामा प्रस्तुत सरु कालीले दर्शकहरुको वाहवाह पाएकी थिइन् । उनको गजलको अन्तिम दुई सेर यस्तो थियो ।
 
‘चुल्हो भन्दा पहिलो पेट बाल्न थाल्छ
गरिबीको सलई संवाहक बनेर
समाचार बेच्नेहरु आफैँ बेचिएछन्
खबर आयो काली मरेको व्यापक बनेर ।’
 
झण्डै एक घण्टासम्म चारजनाको गजल सुन्दा पनि दर्शकहरुले दिक्दारी महसुस गरेका थिएनन् । बरु दर्शकहरुले ताली पिटिनै रहेका थिए । 
अर्का चोटिला गजलकार बासु पुष्पा अधिकारीद्वारा समाजप्रति व्यङ्ग्य गर्दै प्रस्तुत गजलले पनि राम्रै ताली पायो । 
 
‘गर्भ बोक्ने आमाको नाम पाएन शिशुले 
एक थोपा बिर्य दियो र बाउ कहलियो
मान्छे जस्तै मान्छे बस्ने मेरो सुदूर बस्ती
हैँजा पस्यो काल पस्यो हेर्दाहेर्दै उजाडियो ।’
 
झण्डै चार महिना पहिले ड्यालसमै भएको गजलयात्रा जस्तै यस पटक नेपालीहरुले गजलमा झुम्ने अवसर पाएका थिए । चारैजना गजलकारहरुले पालैपालो गजल सुनाएर ‘गजल मेहफिल’ जमाएका थिए । 
 
गजल भन्दा अघि २०४ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कविहरु श्रीहरि फुँयाल, खेमराज गैरे, सुरेन्द्रदेव आचार्य (आदीकवि भानुभक्त आचार्यका पनाती), भगवती पौडेल, लीला श्रेष्ठ, पातलो अन्तरे, यदुनाथ अधिकारी, नेत्र आचार्य, पूजा वागिस, चम्पा भट्टराई, बिकु लामा लगायतले कविता वाचन गरेका थिए । त्यस अवसरमा सुरेश पोखरेलले मैथली भाषामा दोहोरी गीत र पवन पन्तले राष्ट्रिय गीत गाएका थिए । 
 
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसका नयाँ पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस अवसरमा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, अनेसासका अध्यक्ष पदम विश्वकर्माले शूभकामना व्यक्त गरेका थिए । 
 
अनेसास ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीको सभापतित्व र महासचिव सुमन कार्कीको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय सांगितिक व्याण्ड सहयोगिजले आदीकविद्वारा रचयित कविता 'भोलीभोली भनि…' लाई गीतका रुपमा प्रस्तुत गरेको थियो ।