मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेयर सहित सिटीका अधिकारीहरुलाई ‘गोल्डस्टार’ जुत्ता उपहार

मेयर सहित सिटीका अधिकारीहरुलाई ‘गोल्डस्टार’ जुत्ता उपहार


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – अर्भिङ नगरका मेयर रिक स्टोफरले व्यबसायीक वातावरण बढ्दै गएको उल्लेख गर्दै आवश्यक सहयोग गर्न सिटी तत्पर रहेको प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार नेपाली समुदायसँगको अन्तरकृया कार्यक्रममा मेयर स्टोफरले सिटीका पछिल्ला गतिविधिका बारेमा उल्लेख गर्दै नेपाली समुदायको वृद्धिसँगै बिभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिए । अर्भिङ सिटी र वरिपरी झण्डै २५ हजारको हाराहारीमा नेपालीहरु बस्दै आएका छन् । यी मध्य ५ हजार अमेरिकी नेपाली हुन् 
 
मेयर स्टोफरले सिटीमा नयाँनयाँ उद्योग, व्यबसायहरु थपिँदै गएको चर्चा गर्दै त्यस अनुसार शिक्षा, स्वास्थ, सुरक्षा लगायतका क्षेत्रमा बढी ध्यान दिइएको समेत बताए । मेयर निर्वाचित भएपछि पहिलो पल्ट नेपाली समुदायसँग स्थानीय नेपाली समाज टेक्ससको हलमा आयोजित अन्तरकृयामा मेयरले नगरका उच्च अधिकारीहरु, काउन्सिलम्यानसँगै रहेर सिटीका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
 
नगरका उच्च अधिकारीहरु सहित उपस्थित मेयर स्टोफरले अर्भिङलाई अमेरिकाको उत्कृष्ठ सिटी बनाउन आपूm लगायत टीम सकृय रहेको बताए । 
 
कार्यक्रममा सिटीका मेनेजर क्रिश हिलम्यानले अर्भिङ अमेरिकाको मुख्य डाइभर्स सिटी रहेको उल्लेख गरे । अर्भिङमा संसारका बिभिन्न देशहरुबाट आएका झण्डै पाँच दर्जन भाषा बोल्नेहरुको बसोबास रहेको छ । 
 
सोही कार्यक्रममा प्रहरी प्रमुख जेफ स्पाइभीले सिटीमा अपराधिक घटनाहरु घटिरहेको र गत वर्षको भन्दा १० प्रतिशतले क्राइम कम भएको उल्लेख गरे । उनले विभिन्न समुदायबाट प्रहरी सेवामा प्रवेश गर्नेहरु बढीरहेको जानकारी दिँदै शुक्रबारमात्र एकजना नेपाली र एकजना भारतीयले प्रहरी सेवाको शपथ लिएको बताए । 
 
त्यस अवसरमा फायर डिपार्टमेन्ट प्रमुख भिक्टर कोन्ले, सिटी काउन्सिलम्यान क्याले टेलर लगायतले सिटीका बिभिन्न गतिविधिहरुका बारेमा चर्चा गरेका थिए । सिटीको डाइभर्सिटी कमिटीको आयोजनामा भएको अन्तरकृयामा सिटीका गतिविधिका बारेमा नगरप्रमुख, काउन्सिलम्यान लगायत उच्च अधिकारीहरुले नेपाली समुदायको जिज्ञासाको जवाफ दिएका थिए । 
 
नगरका अधिकारीहरुले सिटीले बेलाबखतमा खोल्ने बिभिन्न पदहरुमा रोजगारका लागि दरखास्त दिन समेत नेपाली समुदायसँग आग्रह गरेका छन् । सिटी र अन्य संबन्धित विषयमा सुझाव दिनका लागि वेवसाइटमा लगइन गरेर दिन समेत त्यस अवसरमा जानकारी दिइएको थियो ।
 
त्यस अवसरमा नेपाली समुदायका तर्फबाट नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले नेपाली समाज टेक्सस २० वर्षदेखि कृयाशील रहेको र बिभिन्न सामुदायिक गतिविधिमा कृयाशील रहेको जानकारी दिँदै सिटीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । 
 
त्यस अवसरमा नेपाली समाज टेक्ससका पूर्ब महासचिव विजयराज भट्टराईले डिएफडब्लु एरियामा रहेका नेपाली संघसंस्था र तिनका गतिविधिका बारेमा प्रकाश पारेका थिए । नेपालीबाट आप्रवासी भिसामा अमेरिका आउनेको पहिलो रोजाई अर्भिङ सिटी रहेको उल्लेख गर्दै भट्टराईले सिटीसँग सहकार्य गरेर अघि बढ्न समुदाय आतुर रहेको बताए ।
 
अर्भिस सिटी डाइभर्सिटी कमिटीका प्रभात दीक्षितको समन्वयमा आयोजना गरेको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले नेपाली सामुदायिक कृयाकलापबारे प्रकाश पार्दै नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परिक्षा दिन पाउने व्यबस्थाका लागि आग्रह गरे । 
 
नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष मनोज सिग्देलले सिटीमा नयाँ नेतृत्व आएपछि व्यबसायीक वातावरण बढ्दै गएको अनुभव नेपाली समुदायले गरेको उल्लेख गरे । 
 
गोल्डस्टार जुत्ता उपहारः
शुक्रबार आयोजित कार्यक्रममा सहभागी मेयर लगायत सिटीका अधिकारीहरुलाई कार्यक्रमको अन्त्यमा नेपाली गोल्डस्टार जुत्ता उपहार दिइएको थियो । कार्यक्रमको सञ्चालन गरिरहेका प्रयास बास्तोलाको समन्वयमा लोकप्रिय नेपाली उत्पादन गोल्डस्टार जुत्ता अतिथिहरुलाई प्रदान गरिएको हो ।