मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश, स्वीट्जरल्यान्ड उपविजेता

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश, स्वीट्जरल्यान्ड उपविजेता


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह र्इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो ।
 
अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिए पनि नकआउट चरणमा प्रवेश गरेको हो ।
 
ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनको गोलमा ब्राजिलले अग्रता बनाएसँगै सर्बियाले पहिलो हाफमा दबाबमा खेलेको थियो ।
 
पहिलो हाफमा १–० गोलले पछि परेको सर्बियाले दोस्रो हाफमा थप १ गोल खाएको थियो । खेलको ६८औं मिनेटमा गोल गर्दै ब्राजिलले सर्बियामाथि २–० गोलको अग्रता बनाएको थियो । ब्राजिलका लागि थिएगो शिल्भाले हेडर गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । यसअघि सर्बियाले एकपछि अर्को प्रहार गरे पनि गोल परिणत गर्न भने सकेन ।
 
बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलले ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बटुलेर समूह विजेता बनेको हो ।
 
यसै समूहअन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्डले कोष्टारिकासँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
 
खेलको ३१औं मिनेटमा ब्लेरिम जेमइलीले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को राम्रो प्रदर्शन गरेको स्वीट्जरल्यान्डले गोल गर्ने राम्रो अवसर पाएपनि त्यसको फाइदा उठाउन सकेन ।
 
खेलको ५६औं मिनेटमा केन्डल वास्टनले गोल गर्दै कोष्टारिकालाई बराबरीमा पुर्याएका थिए । खेलको ८८औं मिनेटमा स्वीट्जरल्यान्डले गोल गर्दै २–१ गोलको अग्रता बनाएको थियो । तर खेलको अन्तिम समयमा स्वीट्जरल्यान्डका यान सोमेरले आत्मघाती गोल गरेपछि कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको हो ।
 
स्वीट्जरल्यान्डले ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक बनाएर नकआउट चरणमा पुगेको हो । पराजित सर्बिया र कोष्टारिका भने विश्वकपको समूह चरणबाटै बाहिरिनु परेको छ । तस्बिर : एएफपी

शेयर गर्नुहोस:

0
Shares