मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लालबाबुको बिकल्पमा को हुँदैछन् प्रमुख अतिथी

लालबाबुको बिकल्पमा को हुँदैछन् प्रमुख अतिथी


न्यूयोर्क (अमेरिका) – यही सप्ताहन्त न्यूयोर्कमा हुन लागेको ‘मधेशी एसोसिएसन अफ अमेरिका (मा) को अधिवेशनका लागि आउन लागेका प्रमुख अतिथीलाई नेपाल सरकारले स्विकृती नदिएपछि कस्लाई प्रमुख आतिथ्यता गराउने भन्ने विषयमा छलफल भैरहेको छ ।
 
मे २५ र २६ तारिक (शुक्रबार र शनिबार) हुन लागेको अधिवेशनका लागि आयोजकले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आमन्त्रण गरेका थिए । तर नेपाल सरकारले राउतको भ्रमण कार्यक्रमलाई अस्विकृत गरेपछि प्रमुख अतिथी कस्लाई बनाउने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन ।
 
‘प्रमुख अतिथि कस्लाई बनाउने भन्ने विषयमा आज साँझ बस्ने हाम्रो बैठकले संभवत निर्णय लिनेछ,’ मधेशी एसोसिएसन अफ अमेरिकाका अध्यक्ष सुनिल साहले हिमालय खबरसँग भने । उनका अनुसार संस्थाका पदाधिकारीहरुबाट धेरै खालको प्रस्ताव आएकोले निर्णयपछि मात्र आफुले यसबारेमा बोल्ने बताए ।
 
तर स्रोतका अनुसार अहिले राउतलाईनै प्रमुख अतिथि बनाएर भिडियो कन्फरेन्स मार्फत उद्घाटन गर्नेगरि प्रमुख आतिथ्यता ग्रहण गराउने विषयमा पनि संस्थाका पदाधिकारीहरुबीच अनौपचारिक कुराकानी भैरहेको छ । तर अन्य केही पदाधिकारीहरुले भने सुकदेव साह जस्ता अमेरिकामा रहेका पुराना व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन गर्नुपर्ने विषयलाई उठाएका छन् ।
 
नेपाल सरकार मन्त्रीपरिषदको गत आइतबारको बैठकले राउतको अमेरिका भ्रमणलाई अस्विकृत गरेको हो । जुनसुकै प्रदेशका मुख्यमन्त्री, केन्द्रीय मन्त्री, सचिव लगायत कर्मचारीहरुले विदेश भ्रमणका लागि केन्द्र सरकारको पूर्ब स्विकृती लिनुपर्छ । सरकारले नीति तथा कार्यक्रमको सार्वजनिक हुने समय र बजेटको तयारीमा जुट्नुपर्ने कारण देखाउँदै राउतको भ्रमण कार्यक्रमलाई अस्विकृत गरेको थियो । 
 
तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा राउतले देखाएको अन्तर्राष्ट्रिय कुटनीतिक मान्यता विपरितको काम र अभिव्यक्तीका कारण केन्द्र सरकार चिढिएको छ । राउतले आफू प्रति आएका नकारात्मक टिप्पणीहरुप्रति अझै उत्तेजित हुँदै आफूले भनेको कुरा सही भन्दै अडान लिएपछि केन्द्र सरकारले विदेश भ्रमणमै रोक लगाएको स्रोतको दावी छ । 
 
भारतमा पनि मुख्यमन्त्रीहरुलाई विदेश भ्रमणका लागि केन्द्र सरकारको स्विकृती अनिवार्य छ । बिहारका मुख्यमन्त्री नितिश कुमार धेरै पटक नेपाल आउन खोज्दा पनि र वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा धार्मिक यात्राको लागि नेपाल आउन प्रयास गर्दा केन्द्र सरकारले स्विकृती दिएको थिएन । 
 
यो अधिवेशनमा अमेरिकाका बिभिन्न राज्यहरुबाट चारसयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा आयोजकले गरेका छन् । अधिवेशनमा बेलायत, कतार, चीन लगायतका देशहरुबाट पनि अतिथिहरु आउने अध्यक्ष साहले जानकारी दिए । यो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस:

0
Shares