मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरे पक्राउ, ठूला माछाको पर्दाफास हुने

सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरे पक्राउ, ठूला माछाको पर्दाफास हुने


काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी एवम् सनम शाक्यको हत्याका मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । 
 
भारतको नयाँदिल्लीमा लुकेर रहेको अवस्थामा पक्राउ परेका भनिएका गोरेलाई काठमाडौँको गौरीघाटबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयको विशेष छानबिन समितिअन्तर्गत खटिएको प्रहरीको टोलीले गोरेलाई पक्राउ गरेको हो । 
 
गत माघमा यूएईबाट आएको ३३ किलो सुन एयरपोर्टबाट बाहिरिएलगत्तै गायब भएपछि गोरेले आफ्ना पूर्वसहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको आरोप प्रहरीको छ । हत्या आरोपपश्चात फरार रहेका गोरेलाई रेडकर्नर नोटिस जारी गरेर खोजी गरेको थियो । 
 
सुन प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३२ जनालाई पक्राउ परिसकेका छन् भने ३१ जना फरार सूचीमा रहेका छन् । यस प्रकरणमा नौ प्रहरी अधिकारीसमेत पक्राउ परिसकेका छन् । 
 
जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार सुन तस्करीविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालतमा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । 
 
खासमा को हुन् त गोरे ? 
 
गोरे भनिने चूडामणि उप्रेती केही वर्षअघिदेखि प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा सुन तस्करीको सञ्जाल फैलाइरहेका एक व्यक्ति हुन् । 
 
सरकारले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४२१ पटक गरी ३ हजार ७९९ किलो ५९ ग्राम सुन नेपाल ल्याएको तथ्य फेला पारेको थियो । 
 
पाँच वर्षयता तस्करीमार्फत ल्याइएको सुनको नेपाली बजारमूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन्छ । सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ । 
 
उक्त गिरोहविरुद्ध आपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरिएको हो ।
 
यस अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन ल्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो । नेपाल प्रहरीका पूर्वअसई नेत्र उप्रेतीका जेठा छोरा हुन् ‘गोरे’ । उनी ‘रुपेश’ नामले समेत चिनिन्छन् । 
 
मोरङको साविक इटहरा तथा हाल रतुवामाई नगरपालिकाबाट २०५० सालतिर उर्लाबारी बसाइँ सरेपछि स्थानीय सरस्वती माविमा भर्ना भएका थिए । गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्षसम्म जागिर खाए । 
 
भारतीय सेनाको जागिर छाडेर उनीे वैदेशिक रोजगारीका लागि दुबई गए । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थालेका हुन् । वैदेशिक रोजगारीबाट पैसा कमाएर आर्थिक हैसियत फेरिएको ठानिएका गोरेको आर्थिक समृद्धिको रहस्य भने अहिले आएर रहस्योदघाटन भएको छ । 
 
दुबई गएलगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भएको थियो । सुन तस्करीको भरियाका रूपमा प्रवेश गरेका गोरे त्यसपछि सुनको अवैध कारोबारमा संलग्न भए । उनी आफ्ना भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपालमै रहेर कारोबार विस्तार गर्न सक्रिय भए । 
 
पाँच वर्ष दुबई बसेर सुन पठाउने र हुन्डीको समेत कारोबार गर्ने धन्दामा संलग्न भएका गोरे नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्यान्डलगायतका देशबाट पठाइएका सुनको व्यवस्थापन गर्ने धन्दामा सक्रिय रहे । 
 
प्रहरीका अनुसार दुबईमा गोरेले नेपाली होटल तथा रेस्टुराँसमेत सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । सुन तस्करीमार्फत सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई पनि काठमाडौँमै स्थानान्तरण गराएका थिए ।
 
गोेरेले राजनीतिक दलका व्यक्तिसँग पनि निकट सम्बन्ध बढाएका थिए । स्थानीय चुनावमा पनि मनग्गे पैसा खर्च गर्ने गरेको र उर्लाबारीका केही नेतालाई चुनावमा खुलेरै सहयोग गरेको स्थानीयले जनाएका छन् । 
 
पछिल्लो समय भारतीय व्यापारीसम्म व्यापारिक सम्बन्ध कायम गरेका गोरेले त्रिभुवन विमानस्थलका कर्मचारीदेखि प्रहरीसम्म प्रक्रिया मिलाएर सुन तस्करी गदैृ आएको प्रहरीको अनुसन्धानमा खेलेको छ । गोरेको पक्राउसँगै सुन तस्करीमा जोडिएका नेतादेखि उच्च प्रहरीसम्मको पर्दाफास हुने संभावना बढेको छ ।