मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लालबाबु प्रति प्रवासी मञ्चको आपत्ति

लालबाबु प्रति प्रवासी मञ्चको आपत्ति


ड्यालस (अमेरिका) – पछिल्लो केही समययता विदेशमा रहेका नेपालीहरु माथि शाब्दिक आक्रमण गर्दै आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अभिव्यक्तिप्रति प्रवासी नेपाली मञ्चले आपत्ती जनाएको छ ।

मन्त्री पण्डितले प्रवासमा रहेका नेपालीहरुलाई ‘भुतपूर्ब नेपाली’,‘देशको मायाँ नभएको वर्ग’ लगायतका कठोर शव्दले गाली गर्दै आएका छन् । नेपालको संबिधानले समेत द्वैध नागरिकता लिनसक्ने प्रावधान राखिसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई मन्त्री पण्डितले बारम्बार बिझाउने शव्द प्रयोग गरिरहेकोमा नेपाली समुदायले नवगठित नेपाल कम्युनिष्ट पार्टी तथा सरकारी च्यानल मार्फत आपत्ति जनाउने भएका छन् ।

Advertisement

प्रवासी मञ्च पहिलेको एमाले निकट संस्थाका रूपमा चिनिन्छ । दुइ वामपन्थी दलहरू एक भएपछि प्रवासको शुभेच्छुक संस्थाका रूपमा परिचित प्रवासी मञ्च कुन नामबाट रहन्छ भन्ने बारेमा भने अहिलेसम्म कुनै सार्वजनिक भएको छैन ।

‘हामीले यहाँबाट कमाएर नेपालमा पैसा पठाउँदा भुतपूर्ब नहुने, प्राकृतिक विपद् परेको अवस्थामा सहयोग गर्दा भुतपूर्ब नहुने, तर मातृभूमिको भलो चिताउँदा भुतपूर्ब नेपाली भन्दै बिझाउने शव्द प्रयोग हुनु दुखद् हो । हामी पार्टी र सरकार दुबै निकायलाई यो विषयमा ध्यानाकर्षण गराउने योजनामा छौँ,’ प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका अध्यक्ष मणि भण्डारीले भने ।

नेपालमा सत्तारुढ दुई दल एमाले र माओवादीबीच एकीकरण भएको अवसरमा आइतबार टेक्ससको वातागामा आयोजना गरिएको कार्यक्रममा प्रवासी मञ्चका नेता तथा शुभेच्छुकहरुले मन्त्री पण्डितले निरन्तर दिइरहेको अभिव्यक्तिलाई नियन्त्रण गर्न संबन्धित निकाय मार्फत पहल गर्नुपर्ने धारणा राखेका थिए । ‘लालबाबु पण्डितको विषयमा हामीले अब कुरा उठाउनैपर्छ, त्यस्तो अभिव्यक्तिले हाम्रा साथीहरुलाई पनि अप्ठेरो परिरहेको छ,’ प्रवासी मञ्चका पूर्ब उपाध्यक्ष जीवन जोशीले भने ।

जोशीकै जस्तो धारणा ईन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुसालको पनि थियो । ‘मन्त्री पण्डितले संबिधान, कानुन र यथार्थतालाई बुझ्दै नबुझी हौसिएर बोलेको जस्तो हामीले महसुस गरेका छौँ, उहाँलाई सम्झाउनका लागि अब पहल गर्नैपर्छ,’ ओझाले भने ।

अर्का वक्ता सिर्जनशील साहित्यिक समाज ह्युस्टनका उमापति भुसालले पनि प्रवासिएका नेपालीहरुले नेपाल सरकारसँग कुनै पनि व्यक्तिगत आग्रह र अपेक्षा नराखेको उल्लेख गर्दै कसैको पनि चित्त दुखाउने काम नेपाल सरकारका मन्त्रीहरुबाट हुन नहुने भनाई राखे । यस्तै भनाई ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टर अध्यक्ष शिव काफ्लेको पनि थियो । काफ्ले भने–‘लालबाबुको भनाईप्रति साह्रैनै दुःख लाग्छ । प्रवासी मञ्च मार्फत पार्टी समक्ष यस्ता धारणाहरु नदोहोर्याउनका लागि विशेष आग्रह गर्दछु ।’

दुई ठूला वामपन्थी पार्टीहरु मिलेर नेपाललाई समुन्नत र सुशासनयुक्त बनाउनेतिर ध्यान दिन पनि नेपाली समुदायले आग्रह गरेका छन् । ‘हाम्रो कुनै पनि व्यक्तिगत अपेक्षा केही छैन, हामीले चाहेको कुरा हाम्रो मातृभूमि पनि विकिसत भइदेओस् भन्ने मात्र हो,’ एएनएका महासचिव विजयराज भट्टराईले भने ।

कार्यक्रममा मञ्चकी उपाध्यक्ष यमुना भट्टराईले सुशासन दिन सकेको खण्डमा नेपालले आगामी पाँच वर्षमा साँच्चिकै नयाँ मोड लिने आशा राख्दै अहिले दुई ठूला वामपन्थी दलहरुको एकताप्रति धेरैतिरबाट आशा राखिएको हुँदा स्थिर भएर रहोस् भन्ने कामना गरिन् ।

दुई ठूला वामपन्थी दलहरु एक भएको अवसरमा मैनबत्ती बालेर सुरु गरिएको कार्यक्रममा मञ्चका नेता तथा शुभेच्छुकहरुले नेपालमा दिगो सरकार, सुशासन र विकासको अपेक्षा राखेको बताएका थिए । त्यस अवसरमा छबी चापागाईले सुशासनका लागि नेपाल सरकारले अब तस्कर, भ्रष्टाचारीहरुमाथि कारवाही गर्न हात कमाउन नहुने धारणा राखे ।

मञ्चका नेता राजेन्द्र वाग्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सुरेश पोखरेल, डा. परशुराम दाहाल, प्रदीप तिम्सिना, डा. प्रेम अधिकारी, कमल ओझा, नेत्र पाण्डे, जनक राना, गोकर्ण दाहाल र सरिता चाैलागाइ लगायतले समेत शूभकामना दिँदै एकीकरण दिगो र समृद्धिको लागि होस् भनेर कामना गरेका थिए ।

कार्यक्रममा मञ्चका नेता, शुभेच्छुक तथा सञ्चारकर्मीगरि चार दर्जनको हाराहारीमा सहभागिता रहेको थियो । शनिबारमात्र कार्यक्रम गर्ने निधो भएको र छोटो सूचनाका आधारमा तय हुँदा धेरैजना सहभागी हुन चाहेर पनि आउन नसकेको जानकारी दिइएको थियो । 

 

शेयर गर्नुहोस:

0
Shares