नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यतिबेला नेपालमा मात्रै नभएर विश्वभरि नै चर्चामा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनले चौतर्फी प्रशंसा पाएका हुन् ।
सन्दीपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आइतबारको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिएका छन् ।
आफ्नो तेस्रो खेलमा सन्दीपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।
सन्दीपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।
सन्दीपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दीपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर हुने उनी । सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् ।
सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन । सन्दीपले आईपीएलमा आफुलाई स्थापित गरिसकेका छन् ।
दिल्लीको अन्तिम खेलमा सन्दीपले ३ विकेट लिएका हुन् । दिल्लीलाई जित दिलाउन मुख्य भूमिका खेलेका सन्दीपको चर्चा जताततै चुलिएको छ । फिरोज कोट्ला रंगशालामा भएको खेल सन्दीपको लागि निकै फलदायी बन्न पुगेको छ ।
सन्दीपले भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा डेब्यु खेलमा गरेका थिए । आफ्नो पहिलो खेलमा नै सन्दीपले प्रभावकारी प्रदर्शन गर्दै विकेटसमेत लिन भ्याए ।
उनले विश्वकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहली, एवि डिभिलियर्स लगायतका खेलाडीविरुद्ध बलिङ गरेका थिए । ओपनिङ बलिङ गरेका सन्दीपले बेंग्लोरविरुद्ध दिल्लीका खेलाडीमध्ये सबैभन्दा राम्रो बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए । उनको इकोनोमी ६।२५ रहेको थियो । उनले २ चौका र एक छक्कामात्रै खाएका थिए । सन्दीपले पार्थिव पटेललाई एल्बीडब्लु आउट गराएका थिए ।
आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले दोस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । चेन्नाई सुपर किंग्सविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका थिए ।
विकेट लिने क्रममा सन्दीपले विष्फोटक ब्याट्सम्यान तथा आईपीएल सर्वाधिक रनको रेकर्ड राखेका सुरेश रैनालाई आउट गरेपछि त सन्दीप हिरो नै सावित भएका छन् । चेन्नाईविरुद्ध सन्दीपको इकोनोमी ५.२५ रहेको थियो । चेन्नाईविरुद्ध सन्दीपले एक छक्कामात्रै खाएका थिए ।
सामाजिक सञ्जालमा भाइरल
यतिबेला सन्दीप सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् । उनका लाखौँ फ्यान बढेका छन् ।
आईपीएलमा सफल ल्यान्ड गरेर उनले यो वर्षको आईपीएलले भविष्य पनि निर्धारण गरेको छ । यो सिजनको आईपीएलभर सन्दीप चर्चामा रहे । तर उनले दिल्लीको ११ औं खेलसम्म खेल्न पाएनन् । यद्यपि प्लेअफमा पुग्ने सम्भावना सकिएपछि दिल्लीले ढिलो गरेर सन्दीपलाई मैदानमा उतार्यो । अहिले सन्दीपका बारेमा विश्लेषक तथा मिडियाहरूले दिल्लीसँग सन्दीप जस्ता हिरा भए पनि मैदानमा ढिलो ल्याएको भन्दै असन्तुष्टि जाहेर गरिरहेका छन् ।
एक सामान्य परिवारमा जन्मिएका सन्दीप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१६ मा आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।
आयरल्याण्डविरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका थिए ।
प्रतिक्रिया