मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकालु एअर दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु

मकालु एअर दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु


सुर्खेत । सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको छ । 
 
उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुवै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । 
 
मकालु एअरको 9N–AJu\ C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 
 
उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।
 
दुर्घटनास्थल सिमकोटदेखि १०।७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले बताए । 
 
जहाज हराएको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा जुटेको थियो । 
 
बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । 
 
टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ ।
 
यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका थिए ।