मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हावाहुरीका कारण चितवनमा ८० प्रतिशत केराखेती सखाप

हावाहुरीका कारण चितवनमा ८० प्रतिशत केराखेती सखाप


चितवन । चितवनमा हावाहुरी र असिनापानीका कारण केरा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ । 
 
आपराधिक समूहले केरा फडानी गरेर नोक्सानी ब्यहोरेका किसानले एकसाता पनि नबित्दै अर्को प्राकृतिक विपत्ति सहनु परेको हो । 
 
आइतबार साँझ आएको हावाहुरीसहितको असिनापानीले पूर्वीचितवनको कालिका नगरपालिकाको पदमपुरमा ८० प्रतिशत केरा खेती नष्ट भएको केरा व्यवसायीहरुले जनाएका छन् ।
 
असिनापानीले कालिकाको वडा नं १ देखि ७ सम्मका किसानलाई बढी क्षति पु¥याएको छ । केराखेतीका साथै मकै, तरकारी तथा फलफूलखेती गरी करोडौँ रुपैयाँबराबरको क्षति पुगेको छ । वडा–वडामा क्षतिको तथ्यांक लिन सुरु गरिएको कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले जानकारी दिए ।
 
उनले भने, “सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य एवम् टोल विकास संस्थाका अध्यक्षहरुलाई समेत क्षतिको अवस्थाबारे तथ्यांक संकलनमा सहयोग गर्न भनेको छु । दैवी विपत्तिमा परेकाहरुलाई नगरपालिकाले क्षतिको मूल्यांकनको आधारमा सकेको सहयोग गर्छ ।”
 
केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तका अनुसार पूर्वी चितवनमा लगाइएका करिब दुई हजार बिघा क्षेत्रफलको केरा खेती पूर्णरुपमा नष्ट भएको छ । 
 
उनी भन्छन्, “पूर्वी चितवनका ८० प्रतिशतभन्दा बढी केरा नष्ट भई करोडौँ मूल्यबराबरको क्षति भएकोे छ । सबैभन्दा बढी कालिका नगरपालिकाको पदमपुरमा लगाइएको केरा खेती ध्वस्त भएको छ । त्यहाँ लगाइएको केरा खेती कुनै काम लाग्ने अवस्थामा छैनन् ।”
 
केरा किसानको बीमा छैन 
 
यसपटक अधिकांश केरा किसानले बीमा गराएका छैनन् । अघिल्लो वर्ष २२ करोडको बीमा गरिएको थियो । यसपटक बीमाका लागि १७ करोड रकम रुपैयाँ आए पनि किसानहरु त्यसतर्फ आकर्षित नभएकाले क्षतिको मार किसानले नै भोग्नुपर्ने अवस्था आएको अध्यक्ष पन्तले बताए ।
 
कालिका नगरपालिका केराको पकेट क्षेत्र मानिन्छ । पूर्वी चितवनका पदमपुर, रत्ननगर, पिठुवा, जुटपानी चैनपुर, पश्चिम चितवनका जगतपुर, मंगलपुर र भरतपुर महानगरपालिका १ ठिमुरामा केरा खेती गरिँदै आएको छ । आइतबारको हावाहुरी र असिना पानीले तरकारी खेतीहरुमा पनि नष्ट गरेको छ । 
 
यस्तै. पूर्वी चितवनका विभिन्न स्थानका घरहरुको छानोसमेत उडाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।