मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त : धुर्मुस (हेर्नुहोस् भिडियोमा)

क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त : धुर्मुस (हेर्नुहोस् भिडियोमा)


चितवन । चर्चित कलाकार एवम् धुर्मुस–सुन्तली फाउण्डेशनका अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त स्थान भएको बताएका छन् । 
 
भरतपुर महानगरपालिका–२० स्थित चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए । 
 
उनले अहिले रंगशालाका लागि सम्भावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै छिट्टै स्थान छनौट गरिने बताए । उनले भने, “आईसीसीको नियम हामीले पछ्याउनुपर्छ । क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि मात्रै काम अगाडि बढाउँछौं ।”
 
भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागतयोग्य भएको भन्दै उनले थपे, “भरतपुरले जग्गा दिने घोषणालगत्तै हामी चितवन
आइपुग्यौं । महानगरको पत्र पाउनुभन्दा अगाडि नै हामी यहाँको जग्गा अवलोकन गर्न आइपुगेका हौँ ।”
 
उनले रंगशाला निर्माण समिति बनिसकेकोले सम्बन्धित निकाय, विज्ञ र प्राविधिकको रायसल्लाह र सुझावअनुसार नै रंगशाला निर्माणस्थलको टुंगो लगाउने बताए । 
 
उनले भने, “अहिले हामी जग्गामात्रै निरीक्षण गरिरहेका छौं । रुपन्देहीको सिद्धार्थ रगंशाला, सैनामैनाको मैदान हेरेर चितवन आएका हौं, अब हेटौंडाका केही स्थान पनि हेर्छौं ।”
 
कलाकार धुर्मुसले मानसिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिसकेको बताउँदै रंगशाला साच्चिकै बन्ने र समयमै बन्नेमा ढुक्क हुन आग्रह गरे । नीतिगत काम सकिएपछि शिलान्यासको उद्घाटनको मिति तोक्ने उनको दाबी थियो । 
 
उनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण भएपछि भगवान् गौतमबुद्ध नेपालमा जन्मिएको भनेर प्रचार गरिरहन नपर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय रगंशालाको नाम नै ‘लर्ड बुद्ध क्रिकेट स्टेडियम’ राखिएकोले यही नामले विश्वमा चिनाउने छ ।” आफूहरु नमुना रगंशाला निर्माणमा जुटेकोले करिब दुई सयदेखि तीन सय रोपनीसम्मको जग्गा खोजी गरिहेको बताए । 
 
जग्गा अवलोकन तथा निरीक्षणका लागि धुर्मुससहितको टोलीमा निस्किएका नेपाल इन्जिनियर एशोसिएसनका उपमहासचिव रविभूषण झाले चितवनको मैदान अहिलेसम्मकै उत्कृष्ट रहेको बताए । 
 
यसैबीच, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई चाहेजति जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । 
 
जग्गा अवलोकन तथा निरीक्षण गर्न आएको धुर्मुससहितको टोलीलाई महानगरमा स्वागत गर्दै आवश्यक जग्गा सजिलै उपलब्ध गराउन सकिने बताइन् । उनले भनिन्, “हामीले घोषणालगत्तै बोर्ड बैठकबाट अनुमोदन गरेका छौं, १० बिघा दिने निर्णय भइसक्यो, आवश्यक परेको खण्डमा जति पनि दिन सक्छौं ।”