मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकारिता गर्दा दुई दशकअघि करोड डुबाएका अधिकारीको चिन्ता (भिडियोसहित)

पत्रकारिता गर्दा दुई दशकअघि करोड डुबाएका अधिकारीको चिन्ता (भिडियोसहित)


ड्यालस (टेक्सस) – पत्रकार तथा साहित्यकार हरि अधिकारीले पत्रकारिता जनताको पक्षमा भन्दा पनि कर्पोरेट लबिष्टको रुपमा अघि बढेकोमा चिन्ता व्यक्त गरेका छन् । 
 
बीस वर्ष अघि व्यबसायीक पत्रकारिता गर्ने हुटहुटीमा एककरोड रुपैयाँ डुबाएका अधिकारीले नेपालमा जनताको पीर मर्काका कुराभन्दा पनि कर्पोरेट जगतको कुरा उठाउने माध्यमका रुपमा पत्रकारिता विकास हुँदै गएको बताए । आइतबार टेक्ससको ड्यालसमा नेपाली सञ्चारकर्मीहरुसँगको अन्तरकृयामा अधिकारीले भने–‘जनताको वास्तविक समस्याभन्दा पनि कर्पोरेट जगत मिडियामा हावी छ । फेरि पनि घुमिफिरी पत्रकारिताप्रति जनताको अझै आशा र अपेक्षा भने कायमै छ ।’
 
छँदाखाँदाको सरकारी जागिर राजिनामा गरेर २०४३ सालमा पत्रकारितामा प्रवेश गरेदेखि अहिलेसम्मको उतार चढाव बारे जानकारी गराउँदै अधिकारीले २०५४ सालमा काठमाडौं र बिराटनगरबाट एकैपटक ब्रोडशीट दैनिक पत्रिका निकाल्ने धङधङीमा एक करोड रुपैयाँ डुबाएको उल्लेख गरे । ‘त्यतिखेर एकरोड रुपैयाँ डुबाएपछि म साइकलसमेत चढ्न नसक्ने आर्थिक हैसियतमा छु, तर अहिलेका पत्रकार भाईहरु कार चढ्छन्,’ पत्रकारिताबाट पछिल्लो प्रवृत्तितर्फ इंगित गर्दै उनले भने । 
 
आपूmले कसैलाई चाकडी गर्न र खुशी तुल्याउन नभै देखेको र साँचो कुरा भविष्यको रेकर्डका लागि भए पनि भनिदिनु वा लेखिनुपर्छ भन्ने मान्यता बोकेको उनले उल्लेख गरे । माधब घिमिरेलाई राष्ट्रकविको हैसियत दिनुहुँदैन भन्नेदेखि लिएर दुहबी चोकमा खडा गरिएको भुपालमानसिंह कार्कीको शालिकका विषयमा कुरा उठाएको समेत उनले स्मरण गरे । 
 
मातृभूमि नेपालमा नेपाली कांग्रेस हदैसम्म कमजोर भएकोतर्फ संकेत गर्दै अधिकारीले भने–‘केपी ओली दुई तिहाई पु¥याएर सर्वशक्तिमान हुने रणनीतिमा छन् कांग्रेसले आफ्नो भूमिकासमेत निर्वाह नगरेर भने देश प्रतिपक्षविहिन जस्तो अवस्थामा छ ।’ 
 
उनले प्रवासको नेपाली पत्रकारिताले यहीको नेपाली समुदायको हित गर्नुपर्नेमा जोड दिए । ‘यताबाट पितृभूमिको राजनीति गरेर, उताका कुरा लेखेर कुनै प्रभाव पर्नेवाला छैन, तसर्थ बरु यतैका कुरा लेखेर समुदायलाई सुसूचित गर्न सकेमा मिडियाको सार्थकता हुनेछ ।’
 
कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरुले अधिकारीको स्वागत गर्दै नेपाली पत्रकारिता तथा साहित्यका क्षेत्रमा रहेको योगदानका बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा एनआरएनका मिडिया संयोजक बाल जोशी, लेखक तथा साहित्यकार विजयराज भट्टराई, सुरेशचन्द्र पोखरेल लगायतले अधिकारीसँग पत्रकारिता तथा साहित्यका संबन्धमा जिज्ञासा राखेका थिए ।