मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप छनोटमा सहभागी नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

विश्वकप छनोटमा सहभागी नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत


काठमाडौँ । एकदिवसीय मान्यता प्राप्त गरी नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बावेमा आयोजित आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । 
 
जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो । 
 
नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो । 
 
कूल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौं स्थान हासिल गर्न सफल भएको छ । नेपालले आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता पाएको थियो । 
 
नेपालले आईसीसीबाट सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता पाएको हो । यो नेपाली क्रिकेटको २२ वर्षे क्रिकेट यात्रामा सबैभन्दा ठूलो सफलता हो । एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि नेपालले पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गरेको हो ।
 
नेपालले प्रतियोगितामा आईसीसीबाट सी ग्रेड प्राप्त गरेको थियो । छनोटको सुपर सिक्स पुग्न असफल नेपालले समूह चरणमा ३ खेलमा हार बेहोरेको थियो भने एक खेलमा जित हात पारेको थियो ।
 
पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित दर्ता गराएको थियो ।
 
यस्तै, नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीय मान्यता पाएको थियो । तर, नेपाल सातौँ स्थानको लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग मात्र ४५ रनले पराजित भएको थियो । तस्बिर : रासस