मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वरिष्ठ न्यूरो सर्जन डा थापाको निधनले चितवन स्तब्ध

वरिष्ठ न्यूरो सर्जन डा थापाको निधनले चितवन स्तब्ध


चितवन । त्रिभुवन विमानस्थलमा सोमबार भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा चितवनका वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापाको निधन भएको छ । डा थापाको निधनको खबरले चितवन स्तब्ध बनेको छ ।
 
डा थापा भरतपुर, चौबीसकोठीस्थित चितवन अस्पताल प्रालि तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, यज्ञपुरीमा कार्यरत थिए ।
 
उनी बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा सोमबार दिउँसो २ः२० बजे भएको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।
 
२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले बनेपास्थित कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए ।
 
डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका ‘गोल्ड मेडलिस्ट’ डाक्टर हुन् । २०५१ सालमा एमबीबीएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा तीन पटकसम्म स्वर्णपदक प्राप्त गरेका थिए । डा थापाले बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्यूरो सर्जरीमा एमडीसमेत गरेका थिए ।
 
डा थापा थुप्रै देशमा पुगेर विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए । न्यूरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनी देशविदेशबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।
 
चिकित्सा पेसामा संलग्न रहँदा रहँदै उनी साहित्यमा समेत सक्रिय थिए । उनका ‘डाक्टरी कविता’ (२०६१), ‘डाक्टरका कविता’ (२०६९) कवितासंग्रह र ‘चिरफार’ (२०७०) निबन्धसंग्रह प्रकाशित छन् । यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्यूरो अंकोलोजी’ पुस्तकसमेत प्रकाशन गरेका थिए ।