मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३५ हजारको मृत्यु

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३५ हजारको मृत्यु


विराटनगर । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ ।  
 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । 
 
प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए । 
 
नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे । 
 
कार्यपत्र प्रस्तुत गर्नुहुँदै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिए । 
 
निःशुल्क स्वास्थ्योपचार 
 
नोबेल शिक्षण अस्पताल विराटनगरले रु चार करोड ५४ लाख ७१ हजार रकम बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा उपलब्ध गराएको छ । 
 
दश महिनाका अवधिमा न्यून आर्थिक अवस्था भएका ७६४ बिरामीलाई उक्त रकम बराबरको निःशुल्क उपचार सेवा विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत उपलब्ध गराएको अस्पतालका निर्देशक डा राजेश नेपालले बताए । 
 
छ प्रकारको रोग भएका बिरामीको सहुलियतमा उपचार गरेर औषधिसमेत निःशुल्क उपलब्ध गराइएको जनाइएको छ । रासस