मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्वास्थ्यसेवा बोकेर गाउँ पुग्छन् यी नेपाली अमेरिकन

स्वास्थ्यसेवा बोकेर गाउँ पुग्छन् यी नेपाली अमेरिकन


हिमालयखवर संवाददाता- 
त्यसो त ज्ञानेश्वर श्रेष्ठ नेपाली अमेरिकन भैसके । आफ्नै मातृभुमी जाँदा अमेरिकी पासपोर्ट चाहिन्छ उनलाई । उनको जन्मथलो तम्घास, गुल्मी हजारौं माइल पर छ । तर उनको हुटहुटीले वर्षमा तीनचोटि, यसपाली त पाँच पटक  समेत त्यता पुर्यायो। कुनैबेला गाउँघरको मायाले अंकुसे हाल्छ, कुनैबेला बुबा आमा र आफन्तहरुको ममताले बोलाउँछ । 
 
भर्खरै पनि ज्ञानेश्वर नेपाल आएर  फर्के । नेपाल उनी मिनपचासको विदा मनाउन अथवा पिकनिकको आनन्द लिन गएका हैनन् । प्रत्येक वर्ष उनको सामाजिक अभियानले त्यहाँ पुर्याउँछ । यसपाली फेरि एउटा जम्बो स्वास्थ्य टोली लिएर ज्ञानेश्वर गुल्मी पुगे । औषधि उपचारको पहुँच नपाएका गरीब र असहाय नेपालीहरुलाई  त्यहाँ सहयोग गरे । गएको माघ २७ र २८ गते गुल्मीको तम्घास र अर्घाखाँचीको अर्घादोसमा बॢहद स्वास्थ्य शिविर संचालन गरे । 
 
विगत तीन वर्षदेखि, आफ्नो बुबा आमाको नाममा स्थापित मानबहादुर मायादेवि प्रतिष्ठानको आयोजनामा संचालित हुने त्यस्तो स्वास्थ्य शिविरबाट हजारौं नेपालीले उपचार पाएकाछन् । यसपाली पनि गुल्मी र अर्घाखाँचीका करीब पन्ध्रसयले औषधि उपचार पाएको जानकारी प्रतिष्ठानले दिएको छ । 
 
स्वास्थ्यशिविरमा रक्तचाप, चिनीरोग, स्त्रीरोग, छाति र दाँत सम्बन्धी रोगको परीक्षण र उपचार गरिएको थियो । शिविरमा अधिकांश गुल्मी र अर्घाखाँचीका सुदूर गाउँबाट मानिसहरु आएका थिए । ७० प्रतिशत महिलाको उल्लेख्य सहभागिता रहेको सो स्वास्थ्यशिविरबाट आफूहरु लाभान्वित भएको कुरा उपचारपछि खुशी देखिएका महिलाहरुले बताए । विगत तीनवर्षदेखि प्रत्येक शिविरमा धाएर उपचार गराइरहेका एकजना पुरुषले डाक्टरको खुट्टा समातेर ढोग्दै आफू उपचारबाट अत्यन्त लाभान्वित भएको कुरा बताउँदा शिविरको वातावरण प्रशंसनीय हुनपुगेको थियो । 
 
स्वास्थ्यशिविरमा नेप्लिज सोसाइटी अफ मल्टिडिसिप्लेनरी डेंटिसट्री र  नेपाल कलेज अफ चेष्ट फिजिसियनका चिकित्सकहरू , स्वास्थ्य सहायकहरु र  गुल्मी जिल्ला अस्पतालको महत्वपुर्ण सहयोग रहेको थियो । डाक्टरहरू रोशन पिया, शिरिष अमात्य र सुदीन शाक्यको विशेष सक्रियताको मानबहादुर मायादेवि प्रप्तिष्ठानले हार्दिक प्रशंसा गरेको छ । 
 
त्यसैगरी गुल्मी समाज ह्युस्टन, गुल्मी जिल्लाका प्रहरी, सेना र स्थानीय संघसंस्थाहरुको सहयोगलाई पनि प्रप्तिष्ठानले शिविरको सफलतामा उर्जा मानेको छ । 
 
यसैबीच गुल्मी जिल्ला अस्पतालको अनुरोधमा मानबहादुर मायादेवि प्रप्तिष्ठानले आगामी दुईवर्षकोलागि दुइजना ल्याब टेक्निसियनको व्यवस्था गरिदिनेभएकोछ । 
 
अस्पतालमा ल्याब टेक्निसियनको अभाव हुँदा समयमा रोगको अनुसन्धान र उपचारमा समस्या थियो । केही दिनभित्रै जिल्ला अस्पताल र प्रतिष्ठान बीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कुरा ज्ञानेश्वरले बताए । 
 
हरेक वर्ष संचालित यस्तो शिविरबाट गरीब नेपालीले उपचार सुविधा पाउने त छँदैछ, आन्तरिक पर्यटन, गुल्मीको आर्थिक पक्षमा समेत सहयोग पुर्याउने विश्वास ज्ञानेश्वर गर्छन् । यस्ता कार्यक्रमले अरुलाई पनि आफ्नो जन्मथलोमा सामाजिक अभियान चलाउन उत्प्रेरित गर्नेछ ।