मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यी हुन् सात प्रदेशका मुख्यमन्त्री

यी हुन् सात प्रदेशका मुख्यमन्त्री


हिमालयखबर संवाददाता
काठमाडौँ । मुलुक पहिलोपटक संघीय संरचनामा परिणत भएको छ । संघीय गणतन्त्र नेपालका सातै प्रदेशका प्रथम मुख्यमन्त्रीहरुको प्रष्ट तस्बिर पनि आइसकेको छ । 
 
मुलुकका सात प्रदेशसभामा नयाँ मुख्यमन्त्री बन्ने व्यक्ति छनोट भइसकेका छन् । चुनावी परिणामअनुसार सात प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्कापक्की भएको छ भने दुई नम्बर प्रदेशमा फोरम र राजपाले सरकार बनाउँदैछन् । 
 
प्रदेश नम्बर १ मा एक्लै बहुमत हासिल गरेको एमालेले पोलिट्व्यूरो सदस्य शेरधन राईलाई संसदीय दलको नेता चयन गरेको छ । राईले एमाले सचिव भीम आचार्यलाई दुई मतले पराजीत गरी संसदीय दलको नेतामा चयन भएका हुन् । योसँगै राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । 
 
यसैगरी प्रदेश नम्बर २ मा सबैभन्दा ठूलो दल बनेको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राउतलाई फोरमले संसदीय दलको नेतामा चयन गरिसकेको छ । शनिबार फोरम र राजपाबीच भएको सहमतिअनुसार मुख्यमन्त्री फोरमले पाउने भएको हो । यो सहमतिसँगै २ नम्बर प्रदेशको मुख्यमन्त्री राउत बन्ने निश्चित भएको हो । 
 
यसैगरी प्रदेश नम्बर ३ को मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमालेबाट हेटौंडाका सांसद डोरमणि पौडेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । ३ नम्बर प्रदेशमा मुख्यमन्त्रीका दुई आकांक्षी थिए । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पौडेल संसदीय दलको चुनावमा प्रतिश्पर्धा गरेका थिए । चुनावमा शाक्यलाई पौडेलले पराजीत गरेका थिए । ३ नम्बर प्रदेशमा पौडेल मुख्यमन्त्री बन्ने तय भएको छ ।
 
यसैगरी प्रदेश नम्बर ४ को मुख्यमन्त्री पनि एमालेको भागमा परेको छ । यो प्रदेशमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ संसदीय दलको नेता चयन भएका छन् । गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
 
यसैगरी प्रदेश नम्बर ५ मा पनि एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । पोखरेल यसअघि नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भइसकेका छन् । 
 
प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले नेता महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ । ६ नम्बर प्रदेशमा शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 
 
यसैगरी माओवादी केन्द्रकै भागमा परेको ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादीका नेता त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भइसकेका छन् । शाही र भट्टलाई एमालेले समर्थन गरेको छ ।
 
अब प्रदेश प्रमुखहरुबाट सातै मुख्यमन्त्रीको नियुक्ति हुनमात्र बाँकी छ ।