ड्यालस (टेक्सस) – गजलको अविरल यात्राको लक्ष्य लिएर ‘गजल यात्रा टेक्सास‘ ले अाउँदो जनवरी १४ मा गजल उत्सव गर्ने भएको छ ।
टेक्सासको डालस शहरमा गजल यात्राले अभियान सुरु गरेको केहि महिना मात्र भएको छ। विशुध्द गजलको यो यात्रा अहिले धेरै लोकप्रिय भएको बेलामा गजल यात्रा टेक्सासले अमेरिकामै पहिलो पटक यस्तो खालको उत्सव गर्न लागेको हो।
जनवरी १४ आइतवार दिउँसो २ बजेदेखि स्थानीय अर्भिंग स्थित नेपाली मन्दिरको सभाहलमा आयोजना हुने ‘गजल उत्सव’ कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरुमा रहेका गजल सर्जकहरुको बेजोड गजल प्रस्तुतिहरु रहने आयोजकले जनाएका छन् । यस कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज डालस शाखा र ग्लोबल भुट्निज लिट्रेररी अर्गनाइजेसन सहयात्रीको रुपमा रहेका छन्।
कार्यक्रममा गजल वाचनसँगै गजल गायन समेत हुने उक्त कार्यक्रमको घोषणासँगै अमेरिकामा रहेका साहित्यानुरागीहरु असाध्यै उत्साहित भएको गजल यात्रा टेक्सासका अभियन्ताहरुले बताएका छन् । गजल यात्रा टेक्सासले सबै साहित्यप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भएर नेपाली साहित्यको गतिशिल विधाको रुपमा मौलाएको गजल विधालाई माया र सर्जकहरुलाई हौसला बढाइदिन आग्रह गरेको छ।
गजल लेख्ने सर्जकहरुले सहभागिताको लागि "गजल यात्रा टेक्सास"को अधिकारिक ईमेल [email protected] मा वा फेसबुक पेज www.fb.com/gajalyatratexas मा सम्पर्क गर्न सकिने जनाएका छन् ।
प्रतिक्रिया