बिश्व घटना

बिटक्वाइनको मूल्यमा ठूलो गिरावट, किन्नेहरुमा हाहाकार

बिटक्वाइनको मूल्यमा ठूलो गिरावट, किन्नेहरुमा हाहाकार


हिमालयखवर संवाददाता
अमेरिका- केही महिना यता बजारमा तहल्का मच्चाएको क्रिप्टोकरेन्सी बिटक्वाइनको दिन सकिएको हो ? 
 
थोरै समयमा कैयौं गुना मूल्य बढेका कारण लगानीकर्ता माझ चर्चामा रहेको बिटक्वाइनको भाउ बिहीबारदेखि शुक्रवार आइपुग्दा भारी गिरावट आयो । प्रति इकाई २० हजार डलरसम्म पुगेको यसको मूल्य शुक्रवार ११ हजारमा झर्दा यसका लगानीकर्ता बिच ठूलो कम्पन मच्चिएको छ । केहीले यसलाई अति बढेकाले घट्नु स्वभाविक भनेका छन् । 
 
शुक्रवार बिटक्वाइनको मूल्य ११ हजार डलरमा झरेर विस्तारै १२ हजार डलर पुगेपनि बिहीवारको तुलनामा यो मुल्य अझै २५ प्रतिशतले कम हो । 
 
आइतवार बिटक्वाइनले २० हजार डलर छोएको थियो । विगत केही दिन यता बिटक्वाइनका वारेमा एकपछि अर्को नकरात्मक समाचार आईरहेकाले यसको मूल्यमा उतार चढाव देखिएको हो । 
 
अमेरिकाको शेयर बजारमा यसै साता विटक्वाइनको कारोवार रोक्का गरिएको थियो । दक्षिण कोरियामा ह्याकरका कारण पनि यसको कारोवारमा समस्या आएको थियो । 
 
सरकार र केन्द्रिय बैंकले अनुगमन नगर्ने, परम्परागत शेयर जस्तो आम्दानी नगर्ने बिटक्वाइनको विश्वस्नियताका वारेमा प्रश्न भने उठिरहेको छ । तर, केहीले यस्ता प्रश्नको वावबुद पनि यसको मूल्य निकै बढ्ने दावी गर्दै आएका छन् । 
 
सन् २०१७ को शुरुमा बिट्क्वाइनको मूल्य जम्मा एक हजार डलर थियो । छोटो समयमा यसरी वढ्दै गएकाले यसको विश्वस्नियता माथि प्रश्न उठेको हो । यसलाई केहीले पागलपनको संज्ञा समेत दिएका थिए । 
 
बिटक्वाइनको मूल्यमा सन् २०१३ मा पनि यस्तै गिरावट आएको थियो ।