राजनीति-समाज

ग्यास सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

ग्यास सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त


धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट भएर आगजनी हुँदा घर जलेर नष्ट भएको छ । 
 
पुरानो भइसकेको सिलिण्डर प्रयोग गरेका कारण ग्यास चुहिएर आगजनी भई विष्फोट भएको हुन सक्ने आशंका गरिएको छ । 
 
गल्छी, सिर्वानीका बाबुराम तिमल्सिनाको घरमा बिहीबारमात्रै बैरेनीबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर बेलुकी सवा ८ बजेतिर खाना पकाउन चुल्होमा जोडर बाल्न खोज्दा एक्कासि विष्फोट भई आगजनी भएको तिमिल्सिनाले जानकारी दिए ।
 
मानिस भान्छा कोठाभन्दा बाहिर भएका कारण मानवीय क्षति नभएको तर घरको अन्नपात, लत्ताकपडा तथा गरगहना, घरमै रहेको कपडा पसल, सिलाइ मेशिनसमेत गरी करिब १६ लाख बराबरको धन सम्पत्ति, अन्नपात, लत्ताकपडालगायत जलेर नष्ट भएको तिमिल्सिनाले बताए । 
 
नमस्ते ग्यास उद्योग गल्छी गाउँपालिका वडा नं ६ सुत्केरीढुंगामा रहेको छ । गाउँमै ग्यास उद्योग रहेको र यता गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भई मोटर चल्न थालेपछि दाउराको विकल्पमा स्थानीयले ग्यासको प्रयोग गर्न थालेका छन् ।  
 
सो घटनापछि गाउँका अन्य उपभोक्ताहरु त्रसित हुन पुगेका छन् । यस्ताखाले घटना हुन नदिन गाउँमा रहेका सबै ग्यास सिलिण्डर परीक्षण गरी पुराना भइसकेका सिलिण्डर सम्बन्धित कम्पनीलाई फिर्ता पठाउने तयारी गरिएको गल्छी गाउँपालिका–५ का वडाध्यक्ष प्रेमबहादुर तामाङले बताए । 

शेयर गर्नुहोस:

0
Shares