मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सातवटै प्रदेशका लागि सचिव खटिए

सातवटै प्रदेशका लागि सचिव खटिए


हिमालय खबर संवाददाता-
काठमाडौँ । सरकारले सातवटै प्रदेशमा प्रशासनिक प्रमुखका सचिव खटाउने तयारी गरेको छ । सातवटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने तयारी भएको हो । 
 
सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश सचिव रहने व्यवस्था गरेको छ । 
 
सोहीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सातवटै प्रदेशमा सचिव पठाउन लागेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार प्रदेश सचिवका रुपमा हाल पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै पठाउन लागिएको हो । बाँकी दुई सचिवलाई भने केन्द्रबाट पठाउन लागिएको बताइएको छ ।
 
प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला, प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई खटाइने भएको हो । 
 
यस्तै प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ५ मा बैकुण्ठ अर्याललाई जिम्मेवारी दिइने भएको छ । यस्तै प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेल प्रदेश सचिव रहने छन् ।
 
प्रदेश सरकारका लागि दुई हजार कर्मचारी 
 
सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार
सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारिएको छ । उनले भने, “प्रदेश प्रमुख नियुक्त हुनासाथ काम गर्नका लागि ती कर्मचारी खटाइने छ ।” 
 
अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ । सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको उनले बताए । 
 
प्रदेश मन्त्रिपरिषदमा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको उनले बताए । मन्त्रालयले कर्मचारीको विवरण तयार पारेर सम्बन्धित केन्द्रीय मन्त्रालयसँग के कस्ता कार्य सञ्चालन गर्नुपर्दछ भनेर कामको विवरण पनि माग गरेको छ । 
 
प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सो बमोजिम ती कर्मचारीलाई पठाइने जानकारी दिए ।