कञ्चनपुर । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरू गरिएको छ ।
वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान सुरू गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताए ।
“छाउपडी कुरीतिको रुपमा रहेको छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उनले भने, “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ ।
गोठ भत्काउने अभियानमा वडाध्यक्षहरूले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोग गरेका छन् ।
वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले भत्काउनमा सहयोग गरिएको बताए । “गोठ घरबाट टाढा हुुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ” उनले भने, “महिलालाई सुरक्षित बनाउन गोठ नभत्काई हुँदैन ।” घरबाट टाढा गोठमा बस्दा परिवारका अन्य सदस्यसित सम्पर्क समेत हुन नपाएर विगतमा महिलाले धेरै दुःख पाएको अध्यक्ष गिरीले बताए ।
वडा नं १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएका छन् । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासित जनचेतनामूलक कार्यक्रम गरेको थिए । महिलालाई कार्यक्रममा सहभागी गराएपछि गोठ भत्काउन थालिएको केन्द्रका अध्यक्ष बोहराले बताए ।
सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरू समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीं गोठलाई छाउपडी गोठ भन्ने गरिएको छ । कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् । रासस
प्रतिक्रिया