बिश्व घटना

एनएसटीमा अध्यक्ष, महासचिव लगायतका पदमा निर्वाचन हुने

एनएसटीमा अध्यक्ष, महासचिव लगायतका पदमा निर्वाचन हुने


टेक्सस(अमेरिका)-  टेक्सस राज्यमा रहेका नेपालीको सामाजिक संस्था नेपाली समाज टेक्सस (एनएसटी)मा उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य केही कार्यसमिति पद निर्विरोध भएको छ । तर, अध्यक्ष, महासचिव लगायतमा पदमा भने निर्वाचन हुने भएको छ । 
 
उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमवार अध्यक्ष पदमा निवेदन दिएका दीवस थापाले नाम फिर्ता लिएका छन् । थापाले उपाध्यक्ष पदमा पनि मनोनयन दर्ता गरेका थिए । अध्यक्षमा फिर्ता लिई उपाध्यक्षमा उनी निर्विरोध चयन भएका हुन् ।  
 
कोषाध्यक्षमा अमित शर्मा निर्विरोध चयन भएका हुन् I एनएसटीको महिला संयोजकमा  अायशा अोझा र युवा तथा विद्यार्थी संयोजक पदमा  बिमला श्रध्दा श्रेष्ठ भने निर्विरोध भइसकेको छ। 
 
एनएसटीको निर्वाचन आउने शनिवार हुदैंछ । यो निर्वाचनले एनएसटीको १७ सदस्य कार्यसमिति चयन गर्ने छ। 
 
उम्मेदवार फिर्ता लिने अन्तिम समय सोमवार सकिएको हो । अध्यक्षमा कमल सापकोटा र सुमन थापाले उम्मेदवारी दिएका छन् । सापकोटा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।  सुमन सहकोषाध्यक्ष हुन् । 
 
टेक्ससमा करिब ५० हजार नेपाली बसोबास गर्ने अनुमान भए पनि एनएसटीमा भने  एकहजार ६ सय ६६  मात्र सदस्य छन् । सदस्य संख्या दुई वर्ष अघि भन्दा निकै घटेको छ । सदस्य बन्ने अन्तिमदिनमा संख्या वृद्धि भएको थियो । टेक्सस भनिएपनि यो संख्या बढी ड्यालस केन्द्रित छ ।