न्यूयोर्क (अमेरिका) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठाको माध्यमबाट अमेरिका प्रवेश गरेकाहरूलाइ रध्दीको टोकरीमा मिल्काइएकाहरू रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले डिभी लोटरीबाट अमेरिका आउनेहरु खराबमध्येका खराबहरु रहेको समेत बताएका छन् । एफबीआई नेशनल एकेडेमीको ग्रयाजुएसन कार्यक्रममा बोल्दै ट्रम्पले डिभी परेर आउनेहरु प्रति घृणा समेत व्यक्त गरेको बिजनेस इन्साइडरले जनाएको छ ।
डिभी लोटरी मार्फत हरेक वर्ष ५० हजार जना विश्वका बिभिन्न देशका नागरिकहरूले अमेरिका बसोबासको सुविधा पाउँदै अाएका छन् । राष्ट्रपति ट्रम्पको यो भनाइले डिभी लोटरी बन्द हुने संकेत मिलेको छ ।
विगत पाँच बर्षमा डिभी लोटरीमार्फत अमेरिका आउनेमा पहिलो नम्बरमा नेपालीहरु रहेका छन् । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ जना नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकी भिसा पाएका छन् ।
न्युयोर्कमा दुई महिनाका अवधिमा भएका दुईवटा हमलाकारीहरुको अमेरिकाको निकम्मा इमिग्रेशनमार्फत आएको भन्दै त्यो इमिग्रेशनलाई आफूहरुले छिट्टै र दु्रतगतिमा सुधार्ने ट्रम्पले बताए । ट्रम्पले भने – ‘तपाईलाई लाग्छ कि डिभी परेर अमेरिका आउनेहरु ती देशबाट आएका उत्तम मान्छेहरु हुन् ? होइन । यो कस्तो खालको प्रणाली हो ? उनीहरु चिठ्ठाबाट अमेरिकामा आउँछन् । ती देशहरुले हामीलाई उनीहरुका खराब मान्छेहरु दिएका छन् । उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डिभी परेर अमेरिकामा आएका छन् ।’
प्रतिक्रिया