मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्ससको चुनाव डिसेम्बर अन्तिम साता

नेपाली समाज टेक्ससको चुनाव डिसेम्बर अन्तिम साता


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस (एनएसटी) को आउँदो डिसेम्बर अन्तिम साता हुने निर्वाचनका लागि चारजना नेतृत्वका लागि आकांक्षी देखिएका छन् ।
 
हरेक दुई वर्षमा हुने नेतृत्व चयन अन्तरगत यस पटक डिसेम्बर २३ मा चुनाव हुँदैछ । नेपाली समाजको नेतृत्वका लागि यसपटक बाहिर खासै चर्चा नभएपनि नेतृत्वका लागि चारजनाले चाहना व्यक्त गरेका छन् । 
 
नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल, पूर्ब महासचिव विजयराज भट्टराई र सहकोषाध्यक्ष सुमन थापाले आकांक्षा व्यक्त गरेका छन् । दुई वर्ष अघि सन् २०१५ मा भएको निर्वाचनमा दुईहजार चारसय सदस्य थिए । त्यतिखेर झण्डै ६ महिना अघिबाट चुनावी माहौल सुरु भएको थियो ।
 
निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशित गरिसकेको छ । तरपनि यसपटक अहिलेसम्म नेपाली समाजको चुनावले माहौल तात्न सकेको छैन । अहिलेसम्म को उम्मेदवार हुने भन्ने एकीन नभएकोले पनि चुनावी माहौल नतातेको अध्यक्ष कृष्ण लामिछानेले बताए ।
 
‘को उम्मेदवार हुने भन्ने बारेमा अहिलेसम्म कसैले पनि औपचारिक रुपमा चाहना व्यक्त गरेका छैनन,’ लामिछानेले भने । 
 
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुले अहिलेनै पनि मनोनयनपत्र दाखिला गर्न सक्छन् । नोभेम्बर १९ तारिखमा सुरु भएको मनोनयन आउँदो डिसेम्बर १६ तारिख साँझ ६ बजेसम्म उम्मेदवारहरुले दाखिल गर्न सक्छन् । तर अहिलेसम्म कसैले पनि कसैले उम्मेदवारी दर्ता गराएका छैनन् । 
 
निर्वाचन समितिका अनुसार १७ पदमध्य १४ पदका लागि निर्वाचनत हुदैछ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, उपकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक र ६ जना कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ । तीनवटा पदमा भने नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्नेछ । अध्यक्षका लागि मनोननय शुल्क एकहजार डलर तोकिएको छ । 
 
नेपाली समाजको निर्वाचन कार्यतालिका प्रकाशित भएपछि नयाँ सदस्यता तथा नवीकरण खुल्ला भएको छ । सदस्यता नवीकरण तथा नयाँका लागि दुई वर्षको २० डलर तोकिएको छ । १८ वर्ष उमेर पुगेका टेक्ससबासी नेपालीले सदस्यता लिनसक्नेछन् ।
 
यी हुन् अध्यक्षका आकांक्षीः
नेपाली समाज टेक्ससको अध्यक्षका लागि कसैले पनि मुख खोलेका छैनन् । आकांक्षीहरुले पनि आफ्नो नाम अरुले लिइदिए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका छन् ।
 
तर विश्वस्त शुत्रका अनुसार वर्तमान उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल, पूर्ब महासचिव विजयराज भट्टराई र सहकोषाध्यक्ष सुमन थापाले भित्री रुपमा चाहना व्यक्त गरेका छन् । 
 
‘धेरै साथीहरुले मलाई अघि बढ्न आग्रह गरिरहनुभएको छ । तर मैले केही बोलेको थिइन । हिजो शनिबारदेखि म अघि बढेको छु,’ उपाध्यक्ष सापकोटाले भने । 
 
आफुलाई वर्तमान अध्यक्ष कृष्ण लामिछानेदेखि समाजका अग्रजहरुको सहयोग र समर्थन रहने भएकाले अध्यक्षमा उम्मेदवारी दिने सापकोटाले बताए । 
 
उता वर्तमान महासचिव कमल सत्यालले पनि सापकोटाले चाहना राखेसम्म आफु उम्मेदवार नहुने संकेत गरे । ‘कमल (सापकोटा) दाईले चाहना राख्नुभएसम्म म अघि बढ्दिन, उहाँ पछि हट्नुभयो भने स्वभाविक रुपमा मेरो दावी रहन्छ,’ सत्यालले हिमालय खबरसँग भने । सत्यालले दुई वर्षसम्म महासचिव भएर सफलताका साथ संस्था चलाएको अनुभवका आधारमा पनि सापकोटाले इच्छा व्यक्त नगरे आपूm अघि बढ्ने बताए । 
 
एक कार्यकाल महासचिव र एक कार्यकाल सचिव भएर काम गरिसकेका विजयराज भट्टराईले पनि भित्री रुपमा इच्छा व्यक्त गरेका छन् । भट्टराईलाई एनएसटीका पूर्ब पदाधिकारीहरुको एउटा समूह र शूभचिन्तकहरुले नेतृत्व लिनका लागि दवाव दिइरहेका छन् । 
 
‘व्यक्तिगत रुपमा मैले खासै चासो दिएको छैन,’ भट्टराईले भने–‘तर समाजका सदस्यहरु तथा अग्रजहरुले मेरो आवश्यकता महसुस गर्नुभयो भने मैले भागेर हिँड्ने कुरा पनि हुँदैन ।’
 
भट्टराई दुई वर्ष अघिको निर्वाचनमा पराजित भएका थिए । उनले नेपाली स्कूल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्वाचनमा पराजित भएपनि नेपाली समाजको गतिविधिमा उनी सकृय भएका कारण एकपटक मौका दिनुपर्छ भन्ने सोचाई पूर्ब पदाधिकारीहरुको छ । त्यही भएर उम्मेदवार हुन प्रस्ताव गरिरहेका छन्
 
तर भट्टराईले भने फेरि पनि उम्मेदवार भएर समाजलाई बिभाजित गर्ने बीउका रुपमा आफु चिनिन नचाहेको बताए । ‘एनआरएनको चुनावले बिभाजित गरेको हाम्रो समाजलाई थप विभाजित गर्नेतिर म लाग्दिन,’ उनले भने–‘तर साथीहरुले मलाई चाहनुहुन्छ र निर्बिरोध रुपमा प्रस्ताव गर्नुहुन्छ भने म तयार छु ।’ 
 
उता सहकोषाध्यक्ष सुमन थापाले पनि भित्री रुपमा चाहना व्यक्त गरिरहेका छन् । तर वर्तमान कार्यसमितिको दुई वर्षिय कार्यकालमा थापा मुस्किलले दुई तिन  पटक उपस्थित भएकाले उनीप्रति धेरैले शंका व्यक्त गरेका छन् । 
 
नेपाली समाज टेक्सस टेक्ससमा रहेका नेपालीहरुको सबैभन्दा बलियो र धेरै सदस्य रहेको संस्था हो । समाजको आफ्नै भवनका अतिरिक्त नेपाली भाषाको स्कूल सञ्चालन गर्दै आएको छ ।
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।