न्युयोर्क अमेरिका । ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणमा ध्वस्त भएको वर्ल्ड ट्रेड सेन्टरको मालिकलाई दुई अमेरिकी विमान कम्पनीले साढे ९ करोड डलर तिर्ने सहमति भएको छ।
ट्विन टावर आक्रमणमा प्रयोग भएका अपहरित विमानका कम्पनीहरु अमेरिकन एयरलाइन्स र युनाइटेड एयरलाइन्सले सो रकम वर्ल्ड ट्रेड सेन्टरका मालिक ल्यारी सिल्भरस्टिनलाई तिर्ने भएका हुन्। सिल्भरस्टिनले आक्रमणको ६ हप्ताअघि मात्र वर्ल्ड ट्रेड सेन्टरलाई ९९ वर्षे भाडामा लिएका थिए।
अलकायदाले गराएको सो आक्रमणपछि सिल्भरस्टिनले आफ्नै बीमाबाट साढे ४ अर्ब डलर रकम प्राप्त गरिसकेका छन्। तर उनले अपहरणपछि आक्रमणमा प्रयोग भएका विमान कम्पनीबाट पनि क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए।
उनले करिब सवा १२ अर्ब डलर क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए। तर अहिले दुवै पक्ष साढे ९ करोड डलरमा सहमत भएको बताइएको छ।
सेप्टेम्बर ११ को आक्रमणमा ट्विन टावरमा २७५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। अर्को अपहरित विमान पेन्टागनमा ठोक्काइएको थियो र चौथो अपहरित विमान पेन्सलभानियामा दुर्घटनाग्रस्त भएको थियो।
सबै आक्रमणहरुमा करिब ३ हजार मानिसको ज्यान गएको थियो। एजेन्सी
प्रतिक्रिया