बिश्व घटना

चलचित्र ‘भैरे’ वर्षकै सर्वाधिक उत्कृष्ट बन्नेमा शंका छैन : निर्माता पौडेल

चलचित्र ‘भैरे’ वर्षकै सर्वाधिक उत्कृष्ट बन्नेमा शंका छैन : निर्माता पौडेल


पिता परशुराम पौडेल र माता भीमादेवी पौडेलको कोखबाट सुनसरी जिल्लाको बराह नगरपालिकामा जन्मिएका नवनिर्माता प्रेमप्रसाद पौडेल सकारात्मक सोच लिएर अगाडि बढ्ने व्यक्तिमध्ये एक मानिन्छन् । उनी नेपाली सामाजिक परिवेश र विदेशी भूमिको रहनसहनलार्इ नजिकबाट नियालेका एक सफल  व्यवसायी पनि हुन् । 
 
अमेरिकाको साँस्कृतिक राजधानी मानिने न्यूयोर्क शहर, जसमा नेपालीहरु र साउथ एशियनहरुको बाहुल्य रहेको र अत्यधिक चहलपहल रहेको एउटा सानो बजारको नाम हो ज्याक्सन हाईट । जुन हाल उनको कर्मथलो बनेको छ । त्यही ज्याक्सन हाईटमा हुँदा होस् या मातृभूमि नेपालमा रहँदा नै किन नहोस् सदेैव हँसिलो मुहार लिएर सबैसँग हातेमालो गर्न र सबैलाई सहयोग गर्न तयार रहने सहयोगी हातहरुमध्ये पौडेलको नाम अग्रपंक्तिमा आउँछ। 
 
सम्भावनाको खोजी गर्दै, व्यावसायिक रुपमा सयौं देशको भ्रमण गरी अन्तमा ल्याण्ड अफ अपरच्युनिटी अर्थात् सपनाको शहर अमेरिकाको न्यूयोर्कमा रेष्टुरेन्ट व्यवसायबाट स्थापित भइसकेका पौडेलले आफ्नो क्षमतालाई व्यापारमा मात्र सीमित नराखी देशविदेशमा रहेर सामाजिक अभियन्ताको रुपमा दर्जनौं परोपकारी कार्यहरु गरेर एक उदाहरणीय व्यक्तित्वका रुपमा पहिचान बनाएका छन् । 
 
निर्माता पौडेल परदेशी भूमीमा रहेर पनि आफू कहाँ आउने अतिथिहरुलाई “अतिथि देवो भवः”को उक्ति चरितार्थ गर्न कहिल्यै पछाडि पर्दैनन् । आफू कहाँ आउने पाहुनाहरुलाई आफ्नो हैसियतअनुसारको स्वागत सत्कार गर्न  कहिल्यै चुक्दैनन् । उनी आगामी दिनहरुमा व्यावसायिक रुपमा नेपाली कला क्षेत्रको संरक्षण सम्वर्द्दन तथा प्रवर्द्दनको लागि अगाडि बढ्ने संकल्प लिएर तन, मन र धनले नेपाली सिने जगतमा पहिलो पाइला चाल्दैछन् । उनको भित्री इच्छा उत्कृष्ट सिनेमा बनाउने रहेको छ । जुन व्यावसायिक, आर्थिक, सामाजिक रुपले नै उत्कृष्ट रहने उनको दाबी पनि छ । 
 
नेपाली सिनेमा समयको मागअनुसार हुनुपर्छ, आज बन्ने नेपाली सिनेमाले वर्तमान समयको कथा भनिनुपर्छ, हिजोको पुस्तालाई सम्मान गरिनुपर्छ, भावी पुस्तालाई प्रोत्साहन गरिनुपर्छ भन्ने पवित्र भावना राख्ने निर्माता प्रेम पौडेलको नेपाली चलचित्र क्षेत्रमा भएको आगमनले पक्कै पनि नेपाली सिनेमाको आर्थिक, सामाजिक, व्यावसायिक स्तर उकास्न उल्लेखनीय भूमिका खेल्नेछ । भविष्यमा उनले बनाउने नेपाली सिनेमाहरु व्यावसायिक, मनोरञ्जनात्मक र अर्थपूर्ण हूनेछन् । यसका साथै नेपाली सिनेमाले भावी पुस्तालाई सही दिशानिर्देश गर्नमा अग्रगामी भूमिका खेल्नुपर्ने उनको ठहर छ ।
 
सिनेमा निर्माण गर्ने भनेको एउटा पुल बनाएको जस्तै हो, जुन बलियो र दीर्घकालीन हुन जरुरी छ । जसमा टेकेर भावी पुस्ताले आफ्नो बाँकी जीवन सहजै गुजार्न सकुन्, सकारात्मक पाठ सिकेर अगाडि बढ्न सकुन् भन्ने उनको चाहना छ । तसर्थ उनी एउटा सशक्त टिम लिएर नेपाली चलचित्र क्षेत्रमा पाइला चाल्दै छन् । नेपाली चलचित्र क्षेत्रमा एक कुशल निर्माताको अभाव खड्केको परिप्रेक्ष्यमा एक अनुभवी एवं व्यावसायिक निर्माताको रुपमा पौडेल अगाडि आएका छन् । भविष्यमा लगातार नेपाली फिल्मको माध्यमद्धारा नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उनको लक्ष्य रहेको छ । 
 
नेपाली सिने बजारमा अहिले नयाँ नयाँ नेपाली चलचित्र आउने जाने क्रम निकै बढ्दो छ । साथै नयाँ निर्माता आउनेक्रम पनि निकै तीव्र रहेको छ । यसैबीच अहिले आफ्नो पहिलो चलचित्र ‘भैरे’ लिएर नवनिर्माता पौडेल नेपाली चलचित्र क्षेत्रमा पहिलो पाइला टेक्दै छन् । प्रवासमा रहेर पनि बाँकी जीवन नेपाली चलचित्र क्षेत्रको उत्थानको लागि खर्चिने योजना रहेका उनी दूरदर्शी सोच एवं उत्साहका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । 
 
प्रस्तुत छ नवनिर्माता पौडेलसँग हिमालय खबरका लागि दीपशिखा शर्माले तयार पारेको अन्तवार्ताको सम्पादित अंश–
 
१) प्रेमप्रसाद पौडेलज्यू, यहाँलाई हार्दिक स्वागत छ ।
 
– धन्यबाद तपाईँलाई पनि ।
 
२) तपाईँ एक निर्माताको रुपमा चलचित्र “भैरे” मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ यसको कुनै खास कारण छ कि ?
 
–एक व्यावसायिक सिनेमा निर्माताको रुपमा आज म प्रवेश गर्नुको कारण बालकालदेखिको साहित्य कला र संस्कृतिप्रतिको शौख एवं अहिलेको नेपाली सिनेमा क्षेत्रको बढ्दो बजारजस्ता विभिन्न कुराहरुको सम्मीश्रणका साथै नेपाली सिने जगतमा व्यावसायिक रुपले लाग्नुभएका असल साथीभाइको माया, सद्भाभ अनि प्रेरणाले नै हो ।
 
३) आजकल चलचित्र “भैरे” सामाजिक सन्जाल, पत्रपत्रिकाहरुमा र अनलाइन मिडियामा सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । यसले दर्शकहरुको मन जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?
 
– एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा, पटकथा, संवाद, दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ, हाम्रो टिम यी सबै कुराहरुले परिपूर्ण छ । हाम्रो टिमले चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी राख्ने छैन । तसर्थ चलचित्र “भैरे” यस वर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै दुईमत छैन । साथै व्यावसायिक रुपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा निकै ठूलो बजार लिनेमा म ढुक्क छु । आगामी दिनहरुमा नेपाली सिने क्षेत्रको स्तर उकास्न उल्लेखनीय योगदान गर्ने सवालमा पनि हामी कृत संकल्पित भएर लागिरहेका छौं । आशा छ हामी लक्ष्यमा पुग्न सफल हुनेछौं । 
 
४) ’भैरे’कस्तो चलचित्र हो ? बताइदिनुहुन्छ कि ?
 
– एक करोडको बजेटमा बन्न लागेको चलचित्र भैरे एवं  नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा, पटकथा, उत्कृष्ट टेक्निसियन, कथा, पटकथा, संवाद, संगीत एवं सुपरहिट गीतहरुद्दारा  निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम  गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरेु मा दयाहाङ राईले भैरेको भूमिका निर्वाह गर्दैछन् ।
 
‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई,दर्शकहरुको मन मुटुमा बसेका कलाकार बुद्धि तामाङ, सफल अभिनय गर्न माहिर सुरक्षा पन्त, वर्षा सिवाकोटी, अनुभव रेग्मी, बिक्रान्त बस्नेत, जयनन्द लामालगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक, सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडि बढ्नेछ ।
 
५) तपाईँलाई देशभित्र र बाहिरको पनि अनुभव छ, तपाईँको विचारमा नेपाली चलचित्रको भविष्य कस्तो छ ?
 
– मलाई लाग्छ नेपाली चलचित्रको भविष्य निकै उज्ज्वल छ किनभने यतामात्रै हैन देश बाहिर पनि नेपाली चलचित्रको मायाँ मोह र माग अत्याधिक रहेको छ । हामीले राम्रो कुरा सही ढंगले प्रस्तुत गर्न सक्यौं भने अन्तराष्ट्रिय बजारमा समेत अरुको तुलनामा नेपाली चलचित्रको स्तर उकास्न निकै मद्दत पुग्नेछ । 
 
६) अन्तमा संसारभर छरिएर रहेका नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई के भन्न  चाहनुहुन्छ ?
 
– चलचित्र ‘भैरे’मार्फत नेपाली  सिने जगतमा मेरो पहिलो पाइला हो । वरिष्ठ निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा एक बलियो टिमका साथ हामी आइरहेका छौं । यसकारण ‘भैरे’ सन् २०१८ को एक उत्कृष्ट सिनेमा बन्नेमा कुनै शंका छैन । त्यसैले यस फिल्मलाई संसारभर छरिएर रहेका नेपाली सिने प्रेमीहरुले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु । यसका साथै हिमालय खबर डटकमले मेरो भनाइहरु सार्बजनिक गर्ने मौका दिएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।